विद्यालय शिक्षा विधेयक : शिक्षक बढुवामा तीन प्रस्ताव
शिक्षक प्रधानाध्यापकमा नियुक्त भए महासंघको सदस्य स्वतः निष्क्रिय

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकबारे पुनः छलफल सुरू भएको छ । बिहीबारको बैठकमा विद्यालय व्यवस्थापन समिति र अभिभावक संघ कायमै राखेर जाने सहमति भएको छ ।
विधेयकमा विव्यस र अभिभावक संघ राख्ने प्रस्ताव गरे पनि छलफलका क्रममा हटाइएको थियो । तर विव्यस र अभिभावक संघ राख्ने पुनः सहमति बनेको हो । परामर्श उपसमितिले विव्यस र अभिभावक संघ राख्नेलगायत विभिन्न विषयमा सहमति जुटाएको थियो । उक्त सहमतिलाई समितिका सभापति अम्मरबहादुर थापाले समिति बैठकमा प्रस्तुत गरेका छन् ।
साथै परामर्श उपसमितिले शिक्षक बढुवामा तीन वटा प्रस्ताव गरेको छ । कार्यक्षमता मूल्याङ्कन, जेष्ठता र आन्तरिक प्रतियोगिता राख्ने प्रस्ताव छ । विद्यालय शिक्षा विधेयकमा शिक्षकको कार्यसम्पादन मूल्यांकन अंक घटाएर ८० प्रतिशत बनाउने प्रस्ताव गरिएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव शिक्षकको कार्यसम्पादन मूल्याङ्कनको गणना गर्दा पछिल्लो पाँच वर्षको कार्य सम्पादन मूल्यांकन औसतमा ८० प्रतिशत बनाउने प्रस्ताव गरिएको हो । यसअघि पाँच बर्षको कार्यसम्पादन मूल्याङ्कन औसतमा नब्बे प्रतिशत प्राप्त गरेको हुनुपर्ने थियो ।
शिक्षक प्रधानाध्यापकमा नियुक्त भए महासंघको सदस्य स्वतः निष्क्रिय
विद्यालय शिक्षा विधेयकमा शिक्षक महासंघको सदस्य रहेको शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा स्वतः निस्क्रिय हुने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्तावमा यस्तो प्रताव गरिएको हो । नेपाल शिक्षक महासंघको पदाधिकारीको हैसियतले पाउने काजको सम्बन्धमा भने विधेयकमा छुट्टै प्रस्ताव गरिएको छ ।
ती यस प्रकार छन्
(४) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल शिक्षक महासंघको सदस्य रहेको शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा निजको सदस्यता निज प्रधानाध्यापक रहेसम्म स्वतः निस्कृय हुनेछ र निज प्रधानाध्यापक रहँदासम्म महासंघको तर्फबाट कुनै गतिविधि गर्न पाउनेछैन।
(५) नेपाल शिक्षक महासंघको सदस्य भएको कारणले त्यस्तो सदस्यले थप सेवा सुविधा प्राप्त गर्न र आफ्नो जिम्मेवारी वा दायित्व निर्वाह गर्नबाट कुनै किसिमको छुट पाउने छैन । (यहाँ रहेको काज भन्ने शब्द झिकिएको)
(६) नेपाल शिक्षक महासंघको संस्थागत विकास तथा शैक्षिक सुधार सम्बन्धी गतिविधि सञ्चालन गर्न नेपाल सरकारलाई आर्थिक दायित्व नपर्ने गरी नेपाल शिक्षक महासंघले तोकेका दुई जना पदाधिकारीलाई एक वर्षमा बढीमा दुई महिनासम्म काजको व्यवस्था गर्न सकिनेछ। त्यस्तो काजमा रहेको नेपाल शिक्षक महासंघको पदाधिकारीले मन्त्रानलयले तोकेको निकाय वा विद्यालयमा नियमित हाजिर हुनुपर्नेछ ।
(७) उपदफा (६) बमोजिम नेपाल शिक्षक महासंघको पदाधिकारीलाई काजमा राख्दा नेपाल सरकारले बालबालिकाको पठनपाठनलाई असर नपर्नेगरी वैकल्पिक शिक्षकको व्यवस्था गरी राख्नु पर्नेछ।
(८) यस दफा बमोजिम गठन भएको नेपाल शिक्षक महासंघले वर्षभरी विद्यालय शिक्षाको गुणस्तर सुधार, शिक्षकको पेशागत क्षमता अभिवृद्धि लगायतका विषयमा सम्पादन गरेका रचनात्मक क्रियाकलाप समावेश भएको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।’