इमाडोलमा केटा साथीको घर गएकी किशोरीको ‘अचानक’ मृत्यु


२०८२ श्रावण २२ बिहीबार १३:०३ बजे

काठमाडौं । ललितपुरको इमाडोलमा केटा साथीको घर गएकी एक किशोरीको ‘अचानक’ मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी बस्ने १८ वर्षीया किशोरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।

बुधबार केटा साथीको घरमा अचानक बेहोस भएकी किशोरीको ग्वार्कोस्थित किष्ट अस्पतालमा पुर्‍याउँदा मृत्यु भइसकेको जनाइएको छ । प्रहरीका अनुसार ती किशोरी बुधबार दिउँसो १२ बजेतिर आफ्ना प्रेमी बोझेपोखरीमा बस्ने १८ वर्षीय किशोरको घर गएकी थिइन् ।

उनीहरू सामाजिक सञ्जालमार्फत चिनजान भई केही महिनायता प्रेम सम्बन्धमा रहेको पाइएको प्रहरीले जनाएको छ । किशोरी पहिलो पटक प्रेमीको घर पुगेकी थिइन् । दुई जना कोठामा बसिरहेका बेला दिउँसो २ बजेतिर किशोरी अचानक बेहोस भएकी थिइन् । बेहोस भएपछि ती किशोरले आफ्ना बुबालाई खबर गरेका थिए । खबरपछि किशोरीलाई किष्ट अस्पताल पुर्‍याइएको थियो । त्यहाँ पुर्‍याएपछि चिकित्सकले किशोरीलाई मृत घोषणा गरेका हुन् ।

अस्पताल प्रशासनका अनुसार किशोरीलाई २ः४८ मा अस्पताल ल्याइएको थियो । उनलाई ल्याउँदा नै मृत्यु भइसकेको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए ।
अहिले किशोर प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा छन् । उनीमाथि घटनाबारे सोधपुछ भइरहेको छ । मृत्युको कारण यकिन भइनसकेको एसपी जोशीले बताएका छन् ।

‘मृत्युको कारण खुलिसकेको छैन । पोष्टमर्टम रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ,’ उनले भने । शव पोष्टमर्टमका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको छ । घटनाबारे प्रहरीलाई किशोरी अस्पतालमा पुर्‍याइसकेपछि खबर भएको थियो । उक्त घटनापछि प्रहरी घटनास्थल र अस्पताल समेत पुगेको थियो । घटनास्थलबाट प्रहरीले किशोरीले दिएको लभ–लेटर पनि फेला पारेको छ । प्रहरी वृत्त सातदोबाटो र परिसरको टोलीले यस घटनाको अनुसन्धान गरिरहेको बताएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७