रुपन्देही–३ मा रास्वपा उम्मेदवार हुन यी नौं जनाको आवेदन


२०८२ श्रावण २२ बिहीबार १२:४४ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नामावली  सार्वजनिक गरेको छ । आज (बिहीबार) पार्टीको आधिकारिक फेसबुक लाइभमार्फत रास्वपाले नौं जनाको सूची सार्वजनिक गरेको हो ।

उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएको छ । शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा.लेकजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रहवाल र मधुप्रसाद अर्याल रहेका छन् । रास्वपाले आवेदनको लागि साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समय सीमा तोकेको थियो ।

आवेदन दिएकामध्ये ४ जना मुख्य प्रतिस्पर्धामा देखिएका छन् । जिल्ला नेताहरूका अनुसार मधु अर्याल, ज्ञानु पौडेल, कुसुम महर्जन, सुलभ खरेल र डा. लेखजंग थापा प्रतिस्पर्धाको अग्रपंतिमा आउन सक्ने छन् । ‘मुख्य दावेदारी ४–५ जनाको देखिन्छ, तर आन्तरिक निर्वाचन भएमा फिल्डमै धेरै समय काम गर्न नसक्नुभएका नेताहरूले भाग नलिन सक्नुहुन्छ,’ एक नेताले भने, ‘सदस्यहरूबाट निर्वाचन भएर जाने विधि पूर्णरूपमा लागू भए भूगोल बाहिर काम गरेकालाई समस्या हुने रहेछ ।’

क्षेत्री सभापति अर्याल शिक्षा पेशामा आवद्ध छन् । तिलोत्तमाका उनी विद्यालय सञ्चालक हुन् । उनले साउथ एसियन युनिभर्सिटीबाट अटिज्ममा पीएचडी गरेका थिए । ज्ञानु पौडेल सहकारी अभियन्ता हुन् । यस्तै, डा. लेखजंग थापा न्युरोसर्जन हुन् । केन्द्रिय सदस्य महर्जन रूपन्देहीकै रास्वपा नेतृ हुन् । उनी २०७९ सालको आमनिर्वाचनमा पार्टीको तर्फबाट समानुपातिक सुचीमा थिइन् । उक्त सुचीबाट नाम फिर्तार उनी उम्मेदवारीको दौडमा सामेल भएकी हुन् ।

अमेरिकाबाट निर्वाचनकै लागि आएका खरेलको दाबी पनि सशक्त छ । उनी सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेसँग निकट छन् । प्रदेश सदस्य रहेका तिलोत्तमाका प्रकाश ज्ञवाली र यसअघि सोही क्षेत्रबाट उम्मेदार बनेका भैरहवाका जेबी गुप्ता (शेखर) पनि दौडमा छन् । त्यसैगरी भैरहवाकै पार्टीको जिल्ला कोषाध्यक्ष रचना क्षेत्री, डा. लेखजंग थापा पनि स्थानीयको हिसाबले बलिया प्रतिस्पर्धी हुन् ।

यसअघि रास्वपाले यस क्षेत्रमा राप्रपाका दिवंगत नेता दिपक बोहराका पुत्र गौरब बोहरालाई अघि सार्ने कसरत गरेको थियो । गौरव स्वयंले पनि ग्रीन सिग्नल दिएका थिए । उनले सभापति रवि लामिछानेसँग हिरासतमा भेटेर छलफल समेत गरेका थिए । तर, अहिको उनको च्याप्टर क्लोज भएको छ । 

पार्टी स्रोतका अनुसार हाल फ्रान्समा रहेका गौरवले उम्मेदवारीका लागि दरखास्त हालेका छैनन् ।२०७९ को आमनिर्वाचनमा रूपन्देही–३ मा रास्वपाले समानुपातिकतर्फ १४ हजार मत ल्याउँदै तेस्रो स्थान हासिल गरेको थियो । प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार जीतबहादुर गुप्ताले ५,७९६ मत ल्याएका थिए । त्यो निर्वाचनमा एमाले र राप्रपाको तालमेलबाट राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण पराजित भएका थिए ।

करिब १ लाख ३० हजार मतदाता रहेको यस क्षेत्रमा करिब ९० हजार मत खसेको थियो । समानुपातिक र स्थानीय तहको मतका आधारमा कांग्रेस यस क्षेत्रमा पहिलो दल देखिन्छ । चैत महिनादेखि रास्वपा सभापति रवि लामिछाने रूपन्देही कारागारमा रहेका छन् । यो यही निर्वाचन क्षेत्रमै रहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७