चक्रे मिलनविरुद्ध भक्तपुरमा पनि ज्यान मार्ने उद्योगमा मुद्दा


२०८२ श्रावण २१ बुधबार १७:४० बजे

काठमाडौं । जन्मदिन मनाउने क्रममा मध्यरातसम्म हो–हल्ला गरेपछि गत विहीबार पक्राउ परेका गुण्डा नाइके चक्रे मिलनविरुद्ध भक्तपुरस्थित जिल्ला प्रहरी परिसरले ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने भएको छ ।

२०८१ भदौ ४ मा भएको एक कुटपिटसम्बन्धी घटनामा उनको संलग्नता पुष्टि भएपछि मुद्दा चलाउने तयारी रहेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । अहिले अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रहरी काठमाडौंबाट मुद्दा चलिरहेकाले उनी हाल भद्रकालीस्थित प्रहरी हिरासतमा छन् ।

भक्तपुर प्रहरी प्रवक्ता न्यौपानेका अनुसार, काठमाडौं प्रहरीको हिरासतमा रहेकै अवस्थामा उनको बयान लिने काम अगाडि बढेको छ । उक्त मुद्दा प्रहरी वृत्त, थिमीले अगाडि बढाउने भएको हो ।
थिमी प्रहरी वृत्तका डीएसपी नवराज ढुंगानाका अनुसार एक वर्ष पुरानो मुद्दामा उनको वतन नखुलेका कारण वतन खुलाएर आवश्यक कानूनी प्रक्रिया अगाडि बढ्ने छ ।

भक्तपुरका बासिन्दा मनिष रायमाझीले सामाजिक सञ्जालमा चक्रेलाई लक्षित गर्दै ‘डुँडे’ भनी होच्याएका थिए । त्यसपछि चक्रे आर्फैले फोन गरेर रायमाझीलाई धम्क्याएका थिए । भदौ ४ गते चक्रेका सहयोगी अजित खवाससहितको टोलीले सांघातिक हमला गरेको थियो । सोही घटनापछि रायमाझीले दिएको जाहेरीका आधारमा उनीविरुद्ध मुद्दा चलेको थियो ।

उक्त जाहेरी भक्तपुर जिल्ला अदालतमा २०८१ असोज ९ गते दर्ता भएको थियो । जाहेरीमा प्रतिवादीका रूपमा पहिलो नाम चक्रेकै थियो । तर, ठेगाना नखुल्दा प्रहरीले खवासलाई मात्र प्रतिवादी बनाएको थियो ।

चक्रेको हकमा उनी पक्राउ परेमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम अभियोगपत्र दायर गरिने गरी मुद्दा बुझाइएको थियो । रायमाझीको जाहेरीमा प्रतिवादी बनाइएका चक्रे मिलन नै अहिले काठमाडौं प्रहरीको हिरासतमा रहेका व्यक्ति हुन् भन्ने कुरा प्रमाणित गर्ने प्रक्रियामा प्रहरी छ ।

कुटपिटको उक्त घटनामा संलग्न व्यक्ति पहिचानको प्रक्रिया पनि जारी रहेको थिमी वृत्तका डीएसपी ढुंगानाले बताए । अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा रहेका १९ प्रतिवादीभित्रै उक्त घटनामा संलग्न व्यक्ति पनि हुनसक्ने आशंका गरिएको छ । ‘काठमाडौंमा मुद्दा सकिनासाथ हामी ल्याउँछौं र अनुसन्धान गर्छौं’, भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७