‘लिचीबारी प्रकरणमा मधेसी मूलको सोझो मन्त्रीलाई छपक्क ढालियो, बाङ्गो जस्ताको त्यस्तै’
‘तपाईहरूले रास्वपा र राप्रपालाई गाली गरेको कुरा जनताले पत्याइ दिनुपर्ने ?’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संविधान संशोधन, सुशासन र स्थिरताको प्रतिबद्धता गर्दै गठन भएको वर्तमान सरकार पूर्णतः असफल भएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको आज (बुधबार) को बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो आरोप लगाएका हुन् । उनले सरकार गठनको उद्देश्यअनुसार संविधान संशोधन प्रक्रिया नथालेको, समन्वय नगरेको र सुशासन प्रवद्र्धनमा असफल भएको आरोप लगाए ।
उनले पोखराको लिचिबारी जग्गा प्रकणमा मधेसी मूलका सोझा मन्त्रीलाई पदमुक्त गरिएको तर मुख्य आरोपिलाई संरक्षण गर्ने काम भइरहेको पनि आरोप लगाए । सरकारले गर्ने सकारात्मक काममा सहयोग गर्न प्रतिपक्षी दल सधैं तयार रहेपनि सरकार भ्रष्टाचार र अनियमितता गर्नमै व्यस्त रहेको उनको आरोप छ । उनले लोकप्रियतावादको विरोध गरेर मात्र केही उपलब्धी नहुने भन्दै सरकारलाई व्यवहारिक सुधार र परिणाममुखी कार्यमा ध्यान दिन आग्रह गरे ।
‘तपाईहरूले रास्वपा र राप्रपालाई गाली गरेको कुरा जनताले पत्याइ दिनुपर्ने ?’
नेकपा माओवादी केन्द्रले रास्वपा र राप्रपासँग वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद माधव सापकोटाले महिनौँसम्म सदन बहिष्कार गर्दा पनि वार्ता नगरेको भन्दै असन्तुष्टि जनाए ।
उनले भने, ‘समाजमा प्रियतावादीहरू हुन्छन्, तर उनीहरूलाई गाली गरेर सरापेर के फाइदा छ । रास्वपा र राप्रपाका सांसदहरूले जे गरिराख्नु भएको छ । त्यो मिलेको छैन । तर लोकतन्त्र भनेको यही हो ? महिनौँसम्म दुई पार्टीले बहिष्कार गरेर बाहिर जाने, एक पटक बोलाएर संवादसम्म नगर्ने के कुरा हो ? भनेर छलफल नगर्ने । तिनीहरूलाई यहाँ गाली गरेर जनताले पत्याइ दिनु पर्ने ? कसैले पत्याउँदैनन् ।’
उनले सरकारले आर्थिक सुधार, सुशासन र संविधान संशोधनको एजेण्डा अघि सारेको भए पनि अहिलेसम्म केही नभएको दाबी गरे । उनले सरकारमा रहेका मन्त्रीहरू नै भ्रष्टाचार काण्डमा पर्दा पनि संरक्षण गरिरहेको आरोप लगाए ।