वर्तमान सरकार देश लुट्न र पाप लुकाउन मात्र : संघीय लोकतान्त्रिक मोर्चा

‘रुपन्देही–३ को उपचुनाव ०८४ का लागि परीक्षण’


२०८२ श्रावण २१ बुधबार १६:५३ बजे

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाका नेताहरुले वर्तमान सरकार अप्राकृतिक रहेको दाबी गर्दै पाप लुकाउन र देश लुट्नलाई मात्र बनाइएको आरोप लगाएका छन् । जनजागरण अभियानअन्तर्गत रुपन्देहीको सियारीमा आज (बुधबार) आयोजित कार्यक्रममा उनीहरुले देश सबैको साझा भए पनि राज्यसत्ता मधेशको हुन नसकेको बताएका छन् ।  

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले अप्राकृतिकरुपमा बनेको वर्तमान सत्ता गठबन्धन देशलाई लुट्न र पाप लुकाउनलाई मात्र बनेको दाबी गरे । रुपन्देही–३ मा हुने उपनिर्वाचन केवल चुनाव मात्र नभइ ०८४ को चुनावका लागि आफूहरुलाई परीक्षण समेत रहेको बताउँदै अध्यक्ष महतोले अधिकार र पहिचानका लागि उत्पीडित र विभेदमा परेका जनताको भाग्य निर्धारण गर्ने दाबी गरे ।  

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देश सबैको साझा भए पनि राज्यसत्ता तराईं मधेशको हुन नसकेको बताए । चुरेको विनाश भनेको सभ्यताको विनाश भएकाले चुरे वन विनाश हुने आशयको कानुन स्वीकार्य नहुने उनको भनाइ थियो ।  

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मधेशीहरुले थारुलाई विश्वास गरेर गुन लगाएको बताउँदै उपनिर्वाचनलाई परीक्षाका रुपमा लिनुपर्नेमा जोड दिए ।  तलाई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेश चन्द्र लालले यथाशीघ्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने बताए ।

जसपा नेपालका महासचिव राम कुमार शर्माले मधेश जनविद्रोहको कारण भुल्न नहुने बताउँदै  उन्मुक्तिका लागि उत्पिडनमा परेका सबै एकजुट हुनुपर्ने धारणा राखे । लोसपा नेता समेत रहेका प्रदेश मन्त्री सन्तोष पाण्डेले मोर्चाको साझा उम्मेदवारलाई जिताई छाड्ने प्रतिबद्धता व्यक्त गरे । संघीय लोकतान्त्रिक मोर्चाले देशभर आठ स्थानमा जनजागरण अभियान सञ्चालन गरिरहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७