बहुविवाहलाई वैधता दिने हल्ला झूटो : कानूनमन्त्री चौरसिया


२०८२ श्रावण २१ बुधबार १५:५२ बजे

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई वैधता दिन लागिएको चर्चा झुटो भएको स्पष्ट पारेका छन् । मन्त्री चौरसियाले बहुविवाहलाई अनुमति दिने खालको कुनै पनि विधेयक सरकाबाट संसदमा पेश नहुने स्पष्ट पारे ।

प्रतिनिधिसभाको शून्य, आकस्मिक र विशेष समयमा सांसदले उठाएको बहुविवाहसम्बन्धी चासोबारे जवाफ दिँदै उनले समाजलाई नकारात्मक असर पार्ने खालका कुनै पनि प्रावधानलाई सरकारको विधेयकमा स्थान नदिने प्रतिबद्धता जनाए ।

मुलुकी अपराध संहिता लगायतका संहितामा देखिएका कठिनाइ समाधान गर्न सरकारले संशोधनको पहल गर्दा केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा ‘बहुविवाह गर्न पाउने’ भन्दै समाचार आएको भन्दै मन्त्री चौरसियाले त्यस्तो दाबी गलत भएको बताए ।

‘सञ्चार माध्यम र सामाजिक सञ्जालमा अनुमानका आधारमा आएको व्याख्याले आम मानिसमा अन्योल र आक्रोश सिर्जना भएको छ । तर, समाजलाई नकारात्मक असर पार्ने बहुविवाह लगायतका कुनै पनि विधेयक संसदमा पेश हुँदैन’, उनले भने ।

मुलुकी अपराध संहिता, फौजदारी कार्यविधि संहिता, कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, देवानी संहिता र देवानी कार्यविधि संहितामा समयानुकूल सुधारका लागि सुझाव संकलन भएपछि मस्ष्यौदा तयार गरिएको उनले जानकारी दिए ।

उनका अनुसार सर्वोच्च अदालतका पूर्व न्यायाधीश डा.आनन्द मोहन भट्टराई संयोजकत्वको अध्ययन समिति र तत्कालीन महान्यायाधिवक्ता डा.दिनमणि पोखरेल संयोजकत्वको कार्यदलका प्रतिवेदनलाई आधार मानेर संशोधन अघि बढाइएको हो ।

मन्त्री चौरसियाले सरकारले तयार गरेको मस्यौदा मन्त्रिपरिषदको विधेयक समितिमा हालै छलफल भएको उल्लेख गर्दै त्यही समितिबाट बहुविवाह, विवाहको उमेर, अग्रिम जमानत, राष्ट्रपतिबाट दिइने माफीजस्ता विषयमा थप अध्ययन आवश्यक ठहरिएको बताए ।

उनका अनुसार त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानून सचिवको संयोजकत्वमा उपसमिति गठन गरिएको छ, जसमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानून आयोग, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र महान्यायाधिवक्ता कार्यालयका प्रतिनिधि छन् ।

‘माननीय सांसदहले राखेका सुझावकै आधारमा परिमार्जन हुनेछ । समाजलाई प्रतिकूल असर गर्ने कुनै विधेयक नआउने कुरा स्पष्ट पार्न चाहन्छु’ मन्त्री चौरसियाले भने । उनले संशोधन प्रक्रियामा सांसद र सरोकारवालाको सुझावलाई गम्भीरताका साथ लिइएको बताउँदै विधेयकलाई थप परिष्कृत गर्न सहयोग गरेकोमा धन्यवाद समेत व्यक्त गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७