माओवादीको निर्णयबारे नेकपाले भन्यो–हल्लाका भरमा एकता हुँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेपछि नेकपाको अनौपचारिक स्थायी कमिटी बैठक बसेको छ । बैठकले माओवादीले दाबी गरे जस्तो पार्टी एकता टुङ्गोमा पुगेको अवस्था नभएको निष्कर्ष निकालेको छ । बैठकले नयाँ केन्द्र निर्माणका लागि विशेष जोड दिएको छ ।
आउँदो चरणको राजनीतिक हस्तक्षेपलाई प्रभावकारी बनाउने गरी उत्पादन केन्द्रित कार्यक्रम र महासचिव विप्लवको ‘स्वच्छ नेतृत्व’ मा देशलाई निकास दिने कार्ययोजना अघि बढाउने सहमति बनेको छ । बैठकमा नयाँ घोषणापत्रसहित नयाँ केन्द्र निर्माणको आवश्यकता औंल्याइएको छ । नेकपाले ‘पार्टी एकता टुंगिएको’ भन्ने समाचारलाई हल्ला मात्र भएको जनाएको छ ।
पार्टीले यस्तो हल्लाको भरमा एकता सम्भव नरहेको स्पष्ट पारेको छ । नेकपाले माओवादीले हावामा तीर हानेको प्रतिक्रिया दिएको छ । यसअघि सोमबार सकिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकपछि उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विप्लव नेतृत्वको नेकपासँग एकताको निर्णय भइसकेको जानकारी दिएका थिए । तर विप्लव नेतृत्वको नेकपाले त्यसलाई अस्वीकार गर्दै औपचारिक निर्णय नभएको जनाएको छ । अबको दिनमा पार्टीले स्पष्ट कार्यक्रम र आफ्नै सशक्त नेतृत्वमार्फत नयाँ केन्द्र निर्माण गर्दै अघि बढ्ने संकेत गरेको छ ।