बानियाँले सहमति लत्याएको भन्दै लामा पक्ष रुष्ट
लामाले नियुक्त गरेका तीन मन्त्रीलाई बानियाँले गराएनन् शपथ

मकवानपुर । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पूर्व सहमति पालना नगरेको भन्दै निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षले असन्तुष्टी जनाएको छ ।
आफूले सिफारिस गरेका मन्त्रीहरु नियुक्त नभएकामा निवर्तमान मुख्यमन्त्री लामा असन्तुष्ट भएका छन् । उनले आफू अल्पमतमा पर्दा सिफारिस गरेका तीन मन्त्री समेटेर बागमती प्रदेश सरकार बनाउने सहमति भएपछि राजीनामा दिएको भए पनि बानियाँले उल्लंघन गरेको बताए ।
पार्टी सभापति शेरबहादुर देउवाले समेत भनेको नमानेर नयाँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहमति उल्लंघन गरेको भन्दै शपथ ग्रहण समारोहबाट बाहिरिएका लामाले असन्तुष्टि जनाए । उनले भने, ‘सभापतिले भन्नु भएको कुरा पनि कार्यान्वयन गरिएन ।’ उनले आफ्नै पार्टीका मुख्यमन्त्री बदल्ने नजिर बसाएर गलत संस्कार विकास गरिएको भन्दै आपत्ति जनाएका छन् ।
‘यो संविधानविरुद्ध हो, गलत नजिर बस्यो’, उनले भने, ‘भोलि यसले ठूलो क्षति हुनेछ ।’ उनी सहमति कार्यान्वयन नभएकाले पार्टी सभापति शेरबहादुर देउवा भेट्न जाने भन्दै साँझ काठमाडौँ हिँडेका छन् ।
उनले आन्तरिक मामिला तथा कानून, सहकारी तथा गरिबी निवारण, र युवा तथा खेलकुद मन्त्रालयमा नियुक्त गरेका गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई नियुक्ति दिएपछि उनीहरुलाई सरकारमा समेट्न पार्टी सभापति देउवा सहमत भएको र राजीनामा दिन तयार भएको बताएका थिए । तर मंगलबार उनीहरु कसैको पनि शपथ भएन ।
मंगलबार बागमती प्रदेश सरकारमा भएको हेरफेरमा परेका धादिङका शिवराज अधिकारी मन्त्रालयविहीन भएका छन्। पाँच मन्त्रालयको मन्त्री छान्न नसकेर आफू र दुई मन्त्रीले मात्रै शपथ लिएका बानियाँले निवर्तमान मुख्यमन्त्री लामासँगको सहमति मात्र तोडेका छैनन् लामाको सरकार गिराउन महत्वपूर्ण भूमिका निभाएका र पार्टी सभापति शेरबहादुर देउवाका खास पात्र अधिकारीलाई मन्त्रालयविहीन बनाएर शपथ खुवाएका हुन् ।
तर मन्त्री हुने चाहने र अनेक रुचिका कारण अधिकारी मन्त्रालयविहीन हुन पुगेपछि बानियाँको मन्त्रिमण्डल गठन पहिलो चरणमै असन्तुष्टि र विवादमा परेको छ । कांग्रेसका एक–एक केन्द्रीय नेताले आफू निकटलाई मन्त्रीमा समेट्न बानियाँलाई दबाब दिएपछि मंगलबार पाँच मन्त्रीको नाम थाँती राखेर दुई मन्त्री र आफूले मात्र शपथ गरेका बानियाँ मन्त्रिमण्डल विस्तारमा चरम दबाबमा छन् ।