‘मिलन चक्रे’ सहित १९ जनालाई अदालत लगियो

काठमाडौं । गुण्डागर्दीको आरोपमा पक्राउ परेका गुण्डा नाइके ‘चक्रे मिलन’ सहित १९ जनालाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दामा थुनामा राखेर अनुसन्धान गर्न लागिएको हो ।
प्रहरीले बिहीबार राति शुरूमा ४७ जनालाई नियन्त्रणमा लिएको थियो । ‘स्क्रिनिङ’ गरेपछि १९ जनामाथि मुद्दा चलाएर अनुसन्धान गर्नुपर्ने देखिएपछि अदालतमा म्याद थपका लागि लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अनुसन्धान अधिकृतले बताए । पक्राउ परेका ४७ जनाका बारेमा अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कुन मुद्दा चलाउने भन्नेबारे छलफल सुरु भएको छ ।
रानीपोखरीका एआईजी टेकबहादुर तामाङले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेत र जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीलाई बोलाएर यसबारे गृहकार्य सुरु गरेका छन् । त्यसपछि मात्रै के मुद्दा चल्ने भन्ने यकिन हुने परिसरका एक अधिकारीले बताए । ‘अहिले एआईजी कार्यालयमा यसबारे छलफल भइरहेको छ । त्यसपछि मात्रै कुन कसुरमा मुद्दा चलाउने भन्ने यकिन हुन्छ,’ ती अधिकारीले भने ।
पक्राउ परेका मध्ये उनीहरुको भूमिका र संलग्नता हेरेर मुद्दा चलाइने प्रहरीले बताएको छ । गत १३ माघमा अपराध अनुसन्धान कार्यालयले सामजलाई आतंकित पार्दै केक काटेको आरोपमा ७ जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको थियो । त्यति उनीहरु मुद्दै नचली छुटेका थिए । सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेपछि उनीहरू रिहा भएका थिए ।
बिहीबार राति महाराजगञ्ज क्षेत्रको बाँसबारी रोडमा रहेको होटल साम्बालाबाट चक्रेसहित ४७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको एउटा गाडीबाट २ थान खुकुरी बरामद भएको छ । साथै केही थान रडहरु पनि बरामद भएका छन् ।
गाडीको लावालस्करसहित बाटो समेत अवरुद्ध गरेर चक्रेलाई स्कर्टिङ गरेको भिडिओ सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निगरानी बढाएको थियो । त्यसपछि बिहीबार राति अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भद्रकालीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।