पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत रेग्मी रास्वपामा प्रवेश


२०८२ श्रावण १ बिहीबार १७:५१ बजे

काठमाडौँ । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । आज (बिहीबार) केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता मनीषा झाले रेग्मी पार्टीमा प्रवेश गरेको जानकारी दिएका हुन् । रास्वपाको सिद्धान्त, नीतिगत धारणा र समर्पित नेतृत्वप्रति रेग्मीले विश्वास व्यक्त गर्दै पार्टीमा सहभागी भएका जानकारी दिए । कार्यक्रममा सम्बोधन गर्दै रेग्मीले पुराना राजनीतिक शक्तिहरूबाट मुलुकको समृद्धि सम्भव नभएको निष्कर्षमा पुगेको बताएका छन् ।

जीवनको धेरै समय विज्ञान, अनुसन्धान र पर्यटन विकासमा बिताएको बताउँदै अब त्यो अनुभवलाई राजनीतिको माध्यमबाट राष्ट्र निर्माणमा प्रयोग गर्ने उद्घोष गरेका छन् । रेग्मीले आफू यसअघिसम्म कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको स्पष्ट पार्दै अब रास्वपाको नीतिगत स्पष्टता र सदाचारी नेतृत्वप्रति भरोसा रहेकाले पार्टीमा प्रवेश गरेको बताएका छन् । रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेका राज्यद्वारा नियोजित दमन र चरित्रहत्या प्रयासप्रति चिन्ता व्यक्त गर्दै आफू रवि नेतृत्वप्रति पूर्ण समर्थनका साथ उभिएको उनको भनाइ छ ।

पर्यटन बोर्डमा रहँदा रेग्मी एकपछि अर्को विवादमा मुछिएका थिए । २०७८ सालमा बेलायतबाट नेपाल फर्कने क्रममा आफूले ल्याएको रक्सीको निहुँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीसँग झगडा गरेका थिए । आफ्नो पदीय हैसियतको दुरुपयोग तथा नैतिक आचरण विपरीत काम गरेको भन्दै उनलाई बोर्डको सञ्चालक समितिले निलम्बन समेत गरेको थियो । त्यतिबेला यस विषयमा गठित छानबिन समितिका संयोजक चन्द्रप्रसाद रिजाललाई उनले मार्ने तथा काट्ने धम्की समेत दिएका थिए ।

त्यस्तै, २०८० सालमा रेग्मीले बोर्डको ६० लाख रकम खर्च गर्ने गरी आफ्नो निजी कम्पनीको भूगोलसम्बन्धी कार्यक्रम गरेको आरोप लागेको थियो । उनी बोर्डमा रहँदा आर्थिक पारदर्शितामा प्रश्न उठेपछि अख्तियार दुरुपयोग आयोगले केही योजनासँग सम्बन्धित कागजात पनि मगाएको थियो । स्याङ्जाका स्थायी बासिन्दा रहेका रेग्मी विभिन्न व्यवसायमा पनि संलग्न छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७