‘इन्जुरी टाइम’ मा सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग पराजित

काठमाडौं । साफ महिला यु २० च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बंगलादेशमा जारी च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल अन्तिम मिनेटमा सम्हालिन नसक्दा घरेलु टोलीसँग ३–२ ले पराजित हुनु परेको हो ।
सिन्हा शिखाले १४औं मिनेटमा गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको ३६औं मिनेटमा सागोरिकाले गोल गर्दै अग्रता दोब्बर बनाइन् । खेलको ७७औं मिनेटमा पेनाल्टीमार्फत नेपालकी अनिशा राईले गोल गर्दै अग्रता घटाइन् । ८६औं मिनेटमा मीना देउवाले गोल गर्दै नेपाललाई बराबरीमा ल्याइन् ।
२–० ले पछि परेको नेपाल खेलमा फर्किए पनि इन्जुरी समयको अन्तिममा सम्हालिन सकेन । इन्जुरी समयको अन्तिम मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई जितको बाटो दोहोर्याइन् । च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको थियो ।