रास्वपासँग मुकुललाई कारबाही गरेको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा पेश गरेको कागजात र अभिलेख अद्यावधिकसम्बन्धी कागजात झिकाउन आदेश गरेको छ । रास्वपाबाट निष्कासित महामन्त्री डा. मुकुल ढकालले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि न्यायाधीशहरु हरि फुयाल र नित्यानन्द पाण्डेयको इजलासले ‘मिसिल कागज झिकाउने’ आदेश गरेको हो ।
आदेश अनुसार अब निर्वाचन आयोगले रास्वपा दर्ता हुँदाको कागजात, त्यसका आधारमा रास्वपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय अनि त्यसपछि रास्वपाले ढकाललाई गरेको कारवाही र त्यससम्बन्धी पत्राचार लगायतका सबै कागजात सर्वोच्च अदालतमा बुझाउनु पर्नेछ । आफूलाई रास्वपाको महामन्त्रीमा कायम गरिनुपर्ने र आफूमाथि रास्वपाले गरेको कारबाहीले मान्यता पाउन नहुने मागसहित ढकाल सर्वोच्च अदालत गएका थिए ।