‘कुलिङ पिरियडसम्बन्धी विधेयक नै गायब पार्न खोजियो कि भन्ने शंका बढ्यो’

काठमाडौं । प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा पुगेको संघीय निजामती विधेयकबारे सांसदहरूले चासो देखाएका छन् । टेबल भएको विधेयक नबाँडिएका कारण आशंका बढेको उनीहरूले बताएका छन् ।
आज (शुक्रबार) बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा नेकपा एसका सांसद डा. बेदुराम भुसालले सदनमा टेबल भएको ३ दिनसम्म पनि विधेयक वितरण नहुनुले आशंका पैदा गरेको बताए । ‘संघीय निजामती विधेयकबारे प्रतिनिधिसभामा विवाद भएको थियो । यहाँ सदनमा सन्देशसहितको प्रतिवेदन पेस भएको यतिका समय हुँदा पनि वितरण नहुनुले अर्को आशंका जन्माएको छ, गायब पार्न खोजियो कि ?,’ भुसालले प्रश्न गरे ।
माओवादी केन्द्रका गोपीबहादुर सार्की अछामीले विधेयक सांसदलाई वितरण नहुँदा कुलिङ पिरियडमा गडबडी भयो कि भन्ने आशंका जन्मिएको बताए । माओवादीकै गंगा बेलबासेले कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइएकाले देश तरङ्गित बनेको बताइन् । यसबारे छानबिन समिति बनाएर सत्य तथ्य बाहिर ल्याउनुपर्ने उनले बताइन् । प्रतिनिधिसभाबाट सन्देशसहित गएको विधेयक असार १८ गते राष्ट्रियसभामा टेबल भएको थियो । राज्य व्यवस्था समितिले सर्वसम्मत पारित भएको २ वर्षे कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइएको भन्दै विरोध भइरहेको छ । पारित भएको विधेयकको प्रतिवेदनमा छेडखानी गरिएको भन्दै प्रतिनिधिसभाले छानबिनको तयारी गरेको छ ।