चार लाख बढी सिप्लिकानका बिरुवा बिक्री

गण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा ॐ कृषि फार्मका सञ्चालक कविराज खनालले यस वर्ष मात्रै रु चार लाख ५० हजारको सिप्लिकानका बिरुवा बेचेका छन्। विशेष गरी पहाडी क्षेत्रमा पाइने बहुऔषधीय गुणयुक्त यो वनस्पति देशका अधिकांश स्थानबाट हराउँदै गएको छ, तर खनालले भने विगत पाँच वर्षयता यसको व्यावसायिक खेती गरी आम्दानी गरिरहेका छन् ।
परापूर्वकालदेखि नै च्यवन, गर्गजस्ता ऋषिमुनिहरूले यस वनस्पतिलाई शरीरको शुद्धीकरणसँगै ध्यानमा स्थिरता र दीर्घायु प्राप्तिका लागि उपयोग गर्ने गरेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको पाइन्छ । लोपोन्मुख अवस्थामा रहेको यस वनस्पतिको संरक्षणसँगै पुस्तौँसम्म यसको उपयोग होस् भन्ने सोचका साथ व्यावसायिक खेती गर्न थालेको खनालले बताए । कास्कीको रुपा, मादी, माछापुच्छ«े, अन्नपूर्ण गाउँपालिका र तनहुँको शुक्लागण्डकी, भिमाद, बन्दीपुर, देवघाट आसपासका क्षेत्रहरू सिप्लिकान खेतीका लागि उपयुक्त रहेको बताउँदै उनले संकटापन्न यस प्रजातिको वनस्पतिलाई संरक्षण गर्दै जनजनमा प्रयोग बढाउने उद्देश्य राखेकोे सुनाए ।
कोभिड–१९ महामारीपछि विगत पाँचदेखि आफू यस खेतीतर्फ लागेको खनालको भनाइ छ । ‘यसको व्यावसायिक खेती सुरु गरेको पाँच वर्षभन्दा बढी भयो । राम्रै उत्पादन भयरहेको छ । यस वर्ष मात्रै रु चार लाख ५० हजारको बिरुवा बिक्री भएको छ’, उनले भने, ‘कास्कीको रुपा गाउँपालिकासहित देशका विभिन्न स्थानमा यहाँको बिरुवा पुग्ने गरेको छ । माग धान्नै सकेको छैन ।’ खनालले यस वर्ष मात्र नर्सरीमा १० हजार बिरुवा उत्पादन गरे पनि मागअनुसार अझै बिरुवा उत्पादन गर्न नसकिएको जानकारी दिए । छरछिमेक, इष्टमित्रलगायत कतिपय स्थानमा निःशुल्क बिरुवा प्रदान गर्ने गरेको उनले बताए । सिप्लिकानको प्रतिबिरुवा रु एक सयदेखि १५० सम्म बिक्री भइरहेको छ । पछिल्ला वर्षमा यसको माग अत्यधिक बढ्दो क्रममा छ । ‘पर्यावरणीय सन्तुलनसँगै यो वनस्पति स्वास्थ्यप्रद पनि छ । यसको महत्त्व प्रचारका साथै संरक्षण र बिस्तार आवश्यक छ । यसका लागि राज्यले पनि साथ र सहयोग गर्नुपर्छ’, खनालले भने ।
उच्च रक्तचाप, सुगर, जन्डिस र मिर्गौलामा हुने पत्थरीलगायतका रोगका लागि औषधिका रूपमा सिप्लिकानको प्रयोग गर्ने गरिन्छ । यसलाई तत्कालका लागि तरकारी र अचार तथा लामो समयका लागि गुन्द्रुक बनाएर पनि खान सकिन्छ । खनालले आफ्नो फार्ममा सिप्लिकानसँगै कुरिलोखेती पनि गर्दै आउनुभएको छ । यहाँको उत्पादन शुक्लागण्डकी नगरपालिका–१ र २ का साथै पोखरा नगरपालिका–३२ बाट पनि बिक्री भइरहेको छ । आफ्नो फार्मबाट वार्षिक २० देखि २५ हजार कुरिलोका बिरुवा बिक्री भइरहेका उनले जानकारी दिए ।
स्वास्थ्यका लागि उपयोगी कुरिलोको टुसालाई तरकारीका रूपमा बढी प्रयोग गरिन्छ । कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न पौष्टिक तत्व पाइने र बच्चादेखि वृद्धसम्म सबैका लागि उपयोगी हुने खनालको भनाइ छ । खनालले पछिल्लो समय फार्ममा आउने वा बुझ्न चाहने जो कोहीलाई कुरिलो, सिप्लिकानलगायत खेतीका प्रविधि, उपयोगिता र बजारीकरणलगायत विषयमा जानकारी गराउँदै आएका छन् । उनको फार्म एउटा जीवन्त पाठशाला जस्तै बन्दै गएको छ। व्यावसायिक कृषिसँगै पत्रकारिता र शिक्षण पेसालाई सँगसँगै अघि बढाएका खनाल रेडियो नेपाल र आदर्श समाज राष्ट्रिय दैनिकमा संवाददाताका रुपमा समेत कार्यरत छन् ।