१२ वर्ष लगाएर खेल मैदान निर्माण


१३:२४ बजे

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेल मैदान निर्माण योजनाले पूर्णता पाएको छ । ओरेन्ज युवा क्लबले २०७० सालमा पाखो सम्याएर सुरु गरेको खेल मैदान निर्माण कार्य आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएको हो । 

उपभोक्ता समितिका अध्यक्ष प्रेम पाइजा पुनले स्थानीय युवाहरूको अगुवाइमा समुदायस्तरबाट सुरु भएको खेल मैदान निर्माण सम्पन्न गर्न पर्याप्त आर्थिक स्रोत नहुँदा १२ वर्ष लागेको बताए । ‘यो ठाउँ पहिला पाखो थियो, डोजरले सम्याएर पर्खाल लगाउने, माटो भर्ने, तारजाली लगाउने, ढलान गर्ने, स्टेज र सार्वजनिक शौचालय बनाएर खेलमैदान तयार गरेका हौँ’, उनले भने, ‘सरकारी निकायबाट जति बजेट आउँछ त्यति बराबरको काम गर्नुपर्दा ढिलाइ भएको हो ।’

खेल मैदान निर्माणका लागि दोसल्लेवासीलाई पछिल्लो छ वर्षयता अन्नपूर्ण गाउँपालिकाले निरन्तर साथ दिएको थियो । अन्नपूूर्ण गाउँपालिकाबाट आव २०७६/७७ देखि २०८१/८२ सम्म रु ३४ लाख र गण्डकी प्रदेश सरकारबाट रु पाँच लाख गरी रु ३९ लाख विनियोजन भएको थियो । 

चालु आवमा गाउँपालिकाले विनियोजन गरेको रु १० लाख र रु एक लाख १८ हजार १४८ बराबरको श्रमदानमा खेल मैदानको बाहिरी भाग र स्टेज ढलान गरिएको उपभोक्ता समितिका अध्यक्ष पाइजाले बताए । व्यवस्थित खेल मैदान निर्माण भएपछि खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । ३१ मिटर लम्बाइ र १६ मिटर चौडाइको खेलमैदानमा बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने ओरेन्ज युवा क्लबका अध्यक्ष बेगबहादुर पाइजा पुनले बताए ।

यसअघि उपल्लो दोसल्लेमा रहेको विद्यालय परिसरको खेल मैदानमा खेलकुद गतिविधि सञ्चालन गर्दा विद्यार्थीको पठनपाठन प्रभावित हुने गरेको थियो । कुनातिर ढुङ्गाको सिँढी चिनेर दर्शक बसेर खेल हेर्न मिल्ने प्यारापिट छभने बाँकी तीनतिर तारजालीले घेराबार भएको छ ।

खेल मैदान निर्माणस्थलमा रहेको सार्वजनिक जग्गा अपुग भएपछि स्थानीय शेरप्रताप पाइजा र पावती पाइजाले १० आना जग्गा उपलब्ध गराएकी थिइन् । ३५ घरपरिवार भएको दोसल्ले गाउँका युवा युवती र पौढहरू भलिबल र बास्केटबल खेल्ने गर्छन् । अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष मइलन पुर्जा पुनले दोसल्लेसहित साविक हिस्तान गाविसका पाँचवटै टोलमा पक्की खेल मैदान निर्माण गरिएको जानकारी दिए । घराम्दी, रिमा, औला र टिकोट टोलमा यसअघि नै खेल मैदान निर्माण भएको थियो । 

‘यस वडाको पाँच वटा टोलले आलोपालो गरेर एक वर्षमा एउटा मात्र खेलकुद मेला सञ्चालन गर्ने नियम बनाएका छौँ’, उनले भने, ‘खेलकुदको प्रवद्र्धन र पुुरानो चलनको निरन्तरताका साथै मेलालाई व्यवस्थित गर्न वडाभित्र वर्षमा एउटा मात्र मेला आयोजना गर्ने नियम बनाइएको हो ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७