झाँक्रीको पत्र सचिवालयमा पुगे लगतै नेकपा एसको बैठक स्थगित


२१:१४ बजे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक एकैछिन बसेर स्थगित भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर बसेको सचिवालय बैठकमा पार्टीको आगामी कार्ययोजनाबारे छलफल भएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । महासचिव घनश्याम भुसालको स्वास्थ्य समस्या देखिएका कारण बैठक लामो समय बस्ने नसकेको उनको भनाइ छ । बैठकमा समसामयिक राजनीति परिस्थितिको विश्लेषण, पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियारले लगाएको मुद्दा र त्यस मुद्दासँग जोडिएका विभिन्न कानुनी पक्षमा छलफल भएको खतिवडाले बताए।

‘हाम्रो गत १३ गतेदेखि बसेको केन्द्रीय सचिवालयको बैठक आज छोटो समय मात्रै बसेर स्थगित गर्‍यौँ,’ उनले भने, ‘महासचिवमा स्वास्थ्य समस्या आएका कारणले अरु समय बस्नसक्ने अनुकलता भएनू। हामी यो बैठक आउँदो २२ गते ११ बजे बस्नेछौं ।’ यता स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूलाई स्पष्टीकरण नसोधेको बताएपछि पार्टीले सोधेको दाबी गरेको छ । उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको दाबी गरेका छन् । उनले भने, ‘उहाँलाई अनुशासन आयोगले स्पस्टीकरण सोधेको हो । अनुशासन आयोगले सोधेपछि पार्टीले नै सोधेको हुन्छ ।’

तर झाँक्रीले आफूलाई स्पष्टीकरण नसोधेको दाबी गर्दै आज बैठकमा बोल्न समय माग गरेकी थिइन् । तर महासचिव भुसालको स्वास्थ्यमा समस्या देखाउँदै बैठक स्थगित गरिएको हो । उनले अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन् । त्यही अभिव्यक्तिलाई लिएर पार्टीभित्र चर्को विवाद छ ।

उनले पार्टीलाई बुझाएको पत्रमा भनिएको छ, ‘यो विषयमा मलाई स्पष्टीकरण सोधिनेछ, सोधिएको छ, सोधियो भन्ने जस्ता भ्रामक कुरा बोलिरहनु भएको छ । यो विषयमा मैले स्पष्ट गर्नुपर्ने नै हुन्छ । सार्वजनिक टिप्पणीको स्पष्टीकरण दिने माध्यमा म सार्वजनिक मिडिया बनाउन चाहन्न । कतिपय पदाधिकारीले त अनुशासन आयोगले स्पष्टीकरण सोधिसक्यो पनि भनी सक्नु भएको छ । तर, मलाई यस्तो कुनै लिखित पत्र वा मौखिक प्रश्न वा स्पष्टीकरण कसैले र कुनै कमिटीले पनि सोधेको थाहा छैन ।’ उनले आजको बैठकमा आफ्नो कुरा समय माग गरेकी थिइन् । तर, बैठक स्थगित भएको कारणले आज धारणा राख्न नपाएको उनले बताइन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७