मलेशियालाई हराउँदै नेपाल ‘यू–१६ इस्ट जोन कप’ को फाइनलमा

काठमाडौँ । घरेलु टोली मलेशियालाई हराउँदै नेपाल एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । क्वालालम्पुरमा आज (बिहीबार) भएको पहिलो सेमिफाइनलमा नेपालले मलेशियालाई ९ विकेटले हराएको छ । मलेशियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११ ओभर ४ बलमा १ विकेट गुमाएर भेटायो । नेपालका परिमार्जन यादवले नटआउट ५९ रन बनाए । मलेशियाका नागिनेश्वरन सत्नकुमारनले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेशिया ४३ ओभर १ बलमा ९० रनमा अलआउट भयो । मलेशियाका मुहम्मद फतुल मुइनले सबैभन्दा धेरै ३८ रन बनाए । नेपालका अभय यादवले ४, शुभम् खनालले ३ विकेट लिए । यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनलमा अहिले सिङ्गापुर र हङकङ खेलिरहेका छन् । सिङ्गापुरले हङकङले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको छ ।
नेपाल समूह ‘ए’ मा सबै खेल जितेर सेमिफइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले हराएको थियो । यो समूहबाट सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । यस्तै समूह ‘बी’ बाट हङकङ शीर्ष स्थान र मलेशिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका हुन् । १६ वर्षमुनिको इस्ट जोन कपको फाइनल खेल पर्सी शनिवार हुनेछ ।