पत्रकार पाठकको बयान र थुनछेक बहस न्यायाधीश खेमराज भट्टको इजलासमा


१६:३७ बजे

काठमाडौं । पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित भएसँगै उनको बयान र थुनछेक बहस आजै हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश खेमराज भट्टको इजलासमा पत्रकार पाठकको बयान र थुनछेक बहस हुने  अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । उनीविरूद्ध जिल्ला सरकारी वकिल कार्यलय काठमाडौंले साइबर अपराधमा मुद्दा दर्ता गरेको थियो । यसबारेमा इजलासमा उनको बयान लिइनेछ । बयान लगत्तै थुनछेक बहस सुरू हुनेछ । थुनछेक बहस सकिएपछि थुनामा पठाउने कि बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने पाउने भन्नेबारे अदालतले आदेश गर्नेछ । 

पाठकविरूद्ध सोमबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलले साइबर अपराधको मुद्दा दर्ता गरेको थियो । त्यसअघि नेपाल प्रहरीको साइबर ब्युरोले असार १३ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । पाठकलाई पक्राउ नगरी उनीविरूद्ध मुद्दा दर्ता गरिएको थियो । गत जेठ २८ गते  उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो । पाठकले  ‘टफ टक विथ् दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत हिलटन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाबारे भिडिओ रिपोर्ट प्रसारण गरेका थिए ।

त्यही भिडिओबारे उजुरी परेपछि उनीविरूद्ध ब्युरोले पुर्जी लिएको थियो । असार ५ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न भनेको थियो । पत्रकारले सम्प्रेषण गरेका सामग्रीबारे प्रेस काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था भएकोले विद्युतीय कारोबारसम्बन्धी कसुरमा पाठकमाथि अनुसन्धान गर्नु नपर्ने उच्च अदालतले भनेको थियो । त्यसअघि असार २ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । पत्रकार पाठकविरूद्ध कसले उजुरी दिएको हो भन्ने खुलेको छैन । अभियोग पत्रमा उजुरी दिनेको परिवर्तित नाम राखिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७