सिरहामा युवकको हत्या, अनुसन्धान गर्दै प्रहरी

जनकपुरधाम । सिरहाको अर्नमा गाउँपालिका–१ स्थित घर अगाडि एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ । स्थानीय रामसेवक महराका छोरा अन्दाजी ३० वर्षीय अजय महराको शव शनिवार घर अगाडि फेला परेको हो ।
कुटपिट पश्चात घिसारेर उनको हत्या गरेको देखिएको छ । मृतकको घाँटीमा गम्छा बेरिएको छ । घटनास्थलमा स्थानीयको भीड लागेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीले टोली पुगेर घटनाबारे अनुसन्धान थालेका छन् ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी बीरेन्द्र पासवानले महराको शव फेला परेको र मृत्यु कसरी भएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । आज बिहान मुलिफ अलि मन्सुरको आँपको रुख तल शव फेला परेको डीएसपी पासवानले जानकारी दिए । घटनास्थलको प्रकृति हेर्दा हत्या भए जस्तो देखिने र अनुसन्धान सुरु गरिएको प्रहरीको जनाएको छ ।