बालमन्दिरको जग्गा प्रकरणमा पूर्व महासचिवलाई धरौटीमा छाड्न आदेश

काठमाडौं । काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा सस्तोमा भाडामा दिएर ठगी गरेको प्रकरणमा फरार आरोपी गणेशभक्त श्रेष्ठ अदालत हाजिर भएका छन्। प्रहरीले प्रतिवादी बनाएर २७ वैशाख २०८१ मा मुद्दा दायर गरेकामध्येका श्रेष्ठ सोमबार हाजिर भएका हुन्। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
रेग्मी बालमन्दिरका पूर्व महासचिव हुन्। चलनचल्ती भन्दा कम दरमा भाडामा दिएर ठगी गरेको भन्दै बाल संगठनका तर्फबाट प्रहरीमा जाहेरी परेको थियो। त्यसपछि अनुसन्धान गरेको सीआईबीले बालमन्दिरकी पूर्वअध्यक्ष रीतासिंह वैद्यसहितका पदाधिकारीहरुविरुद्ध पक्राउ पूर्जी लिएर अनुसन्धान गरेको थियो। प्रहरीले वृहस्पति विद्या सदनका अधिकारीहरुलाई समेत प्रतिवादी बनाएको थियो। .अनुसन्धानका क्रममा पदाधिकारीहरुले सम्झौता अवधि १७ वर्ष बाँकी छँदै पुनः थप ३८ वर्ष भाडामा दिने सम्झौता गरेको समेत भेटिएको थियो।
नक्सालमा बाल संगठनको नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा छ। त्यसमध्ये २८ रोपनी ५ आना १ पैसा जग्गा नेपाल बाल संगठनले बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्या सदन) लाई भाडामा दिने सम्झौता गरेको थियो। बृहस्पतिलाई जग्गा भाडामा दिन २०४९, २०५३, २०५८, २०५९ र २०७२ सालमा गरी पाँच पटकसम्म सम्झौता भएको थियो। यो प्रकरण बाहिरिएपछि सम्झौता रद्द भएको थियो।