इजरायलद्वारा इरानी सुरक्षा निकाय र इभिन जेललाई निशाना बनाएर शक्तिशाली आक्रमण

तेहरान । इजरायलले सोमबार इरानको राजधानी तेहरानमा स्थित इरानी सेनाको संरचना र प्रसिद्ध इभिन जेलमाथि हवाई प्रहार गरेको छ। इजरायलका अनुसार यो आक्रमण हालसम्मकै सबैभन्दा शक्तिशाली रहेको बताइएको छ । युद्धको ११ औं दिनमा इजरायलले तीव्र बलप्रयोगका साथ इरानी ‘शासनका लक्षित संरचना’ हरूमा कारबाही गरेको जानकारी दिएको छ।
इजरायली रक्षा मन्त्री इस्राएल कात्जले उक्त कारबाहीलाई ‘अभूतपूर्व बल प्रयोगसहित शासनको नियन्त्रण संरचनामाथिको प्रहार’ भनी वर्णन गरे। उहाँका अनुसार आक्रमणका लक्ष्यहरूमा इभिन जेल, घरेलु बासिज मिलिसियाको कमाण्ड केन्द्र र इरानी सेनाको संरचना समावेश थिए। इभिन जेल राजनीतिक बन्दी र शासन विरोधीहरूलाई राख्ने ठाउँका रूपमा चिनिन्छ।
इजरायली सेनाले एक वक्तव्यमार्फत् आक्रमणको उद्देश्य ती संरचना निस्तेज पार्नु रहेको जनाएको छ, जुन इरानमा आन्तरिक सुरक्षाको निगरानी तथा शासनको स्थायित्व सुनिश्चित गर्ने काममा संलग्न थिए। साथै, तेहरान दक्षिणतर्फको पर्वतीय क्षेत्रमा अवस्थित महत्वपूर्ण फोर्डो युरेनियम समृद्धिकरण केन्द्र पनि निशानामा परेको थियो।
इजरायली सेनाले भने अनुसार, फोर्डो केन्द्रको ‘पहुँच मार्गलाई अवरुद्ध गर्न’ सोमबार आक्रमण गरिएको हो। उक्त स्थानमा अघिल्लो दिन संयुक्त राज्य अमेरिकाले ‘बंकर बस्टर’ बम प्रयोग गरी आक्रमण गरिसकेको थियो। अमेरिका तथा इजरायलले इरानको आणविक कार्यक्रमलाई सम्भावित खतराको रूपमा लिएका छन्। इरानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट अहिलेसम्म ४०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। उता, इरानका आक्रमणहरूले इजरायलमा २४ जनाको ज्यान गएको पुष्टि गरिएको छ।
तेहरानमा आक्रमणपछि विद्युत् आपूर्ति प्रणालीमा असर परेको र केही समयका लागि विद्युत् अवरोध भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्। उता इजरायलको राष्ट्रिय विद्युत् कम्पनीले पनि देशको दक्षिणी भागमा रहेको ‘रणनीतिक संरचना’ नजिक क्षति पुगेको जनाएको छ, यद्यपि स्थान र कारण खुलाइएको छैन।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो दिन इरानी आणविक संरचनामाथि गरिएको अमेरिकी आक्रमणले ‘पूर्णरूपमा नष्ट’ गरेको दाबी गरे। यद्यपि केही अधिकारीहरूका अनुसार त्यसको वास्तविक असर मूल्यांकन गर्न अझै समय लाग्नेछ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक बैठकमा बोल्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले फोर्डो स्थलमा क्षतिको देखिने प्रमाण भए पनि भूमिगत क्षति मूल्याङ्कन गर्न नसकिएको बताए। उनले आणविक संरचनामाथिको हतियारयुक्त आक्रमण कुनै पनि अवस्थामा हुनु नहुने कुरामा जोड दिए।
इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिका र इजरायलका आक्रमणले आणविक कूटनीतिक पहलमा गम्भीर असर पार्ने चेतावनी दिएका छन् । उनले यो हस्तक्षेपले ‘शान्तिपूर्ण वार्ताको द्वार बन्द गर्न सक्ने’ टिप्पणी गरे। यस घटनाक्रमसँगै अन्तर्राष्ट्रिय बजारमा प्रभाव देखिएको छ। प्रारम्भिक अवस्थामा तेलको मूल्य चार प्रतिशतभन्दा बढीले वृद्धि भए पनि दिनको उत्तरार्धमा केही घटेको छ। चीनले दुबै पक्षलाई संयम अपनाउन आग्रह गर्दै क्षेत्रीय तनावले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने चेतावनी दिएको छ।
युद्ध अझ गम्भीर मोडमा जान सक्ने संकेत देखिँदै गर्दा, अमेरिकाले आफ्ना नागरिकहरूलाई विश्वभर सतर्कता अपनाउन अनुरोध गरेको छ। बहरेनस्थित अमेरिकी दूतावासले स्थानीय तनावका कारण केही कर्मचारीहरूलाई अस्थायी रूपमा ‘टेलिवर्क’ मा स्थानान्तरण गरिएको जनाएको छ। रासस / एएफपी