प्रचण्डलाई भेटेर शिक्षकहरूको गुनासो : सरकारले सहमति कार्यान्वयनमा उदासीनता देखायो


२०८२ असार ९ सोमबार १५:३२ बजे

काठमाडौँ । नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले आज (सोमबार) प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनकै निवास खुमलटारमा भेटवार्ता गरेका छन्। भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गर्दै ती सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा राखेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

शिक्षकहरूको गुनासो र माग सुनेपछि अध्यक्ष प्रचण्डले शिक्षक पेसा एक सम्मानित र राष्ट्रको भविष्यसँग जोडिएको पेसा भएको उल्लेख गर्दै सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका थिए। उनले भने, ‘शिक्षकहरूलाई सम्मान गर्नुपर्छ, किनकी यो एक सम्मानित पेसा हो, जुन देशको भविष्यसँग समेत गाँसिएको छ।’ उनले थपे, ‘सरकार र शिक्षक महासङ्घबिच भएका सहमति कार्यान्वयन नहुने अवस्था सिर्जना भएको छ। हामीले सदनको अवरोध हटाउने निर्णय पनि सरकारलाई ‘शिक्षकका मागहरू पूरा भएनन्’ भन्ने बहाना नबनाउन सकोस् भनेर गरेका हौँ।’

अध्यक्ष प्रचण्डले शिक्षकका जायज मागहरू बिना शर्त तुरुन्त पूरा गर्नुपर्ने बताएका छन्। उनले प्रारम्भिक बाल विकास कक्षालाई विद्यालय संरचनाभित्र समेट्नुपर्ने आवश्यकता पनि औँल्याए। उनले भने, ‘हामी ती मागहरू पूरा गर्न आफ्नो तर्फबाट पूर्ण रूपमा लाग्नेछौं ।’ भेटका क्रममा शिक्षक महासंघका पदाधिकारीहरूले शिक्षा क्षेत्रलाई राजनीतिक अस्थिरता र अनिश्चितताको चपेटाबाट मुक्त गराउन तथा शिक्षकहरूसँग भएका सहमति तुरुन्त कार्यान्वयन गर्न आग्रह गरे। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७