सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको संकेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको छ। लगातार दुई दिन (असार ७ र ८) बसेको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको संघीय संसदीय दललाई उक्त निर्णय गर्न निर्देशन दिएको प्रवक्ता मनिष सुमनले जानकारी दिए।
‘केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न, संविधान संशोधन गर्न पूर्णतः असफल भएकाले पार्टीद्वारा सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न पार्टीको संघीय संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको छ,’ सुमनले सुनाए।
त्यसैगरी, भदौ २५, २६ र २७ गते सबै प्रदेशमा पार्टीको प्रदेश अधिवेशन सम्पन्न गर्ने, असार २८ गते परिसंघको बैठक गर्ने र राजविराज नगरपालिकामा भएको अप्रिय घटनाका विषयमा स्पष्टीकरण सोध्ने निर्णय भएको सुमनले बताए। जसपा नेपालको नेतृत्वमा रहेको राजविराज नगरपालिकामा जनप्रतिनिधिहरूबीच कुटाकुट भएको थियो।