ट्रम्पले गरे इरानमा सत्ता परिवर्तनकाे संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा शासन परिवर्तन सम्भव भएको बताएका छन्। सामाजिक सञ्जालमामार्फत उनले यस्तो बताएका हुन्। ‘राजनीतिक रूपमा शासन परिवर्तन भन्ने शब्द प्रयोग गर्नु सही होइन, तर यदि वर्तमान इरानी शासन इरानलाई फेरि महान बनाउन असमर्थ छ भने, किन शासन परिवर्तन हुँदैन ?’ ट्रम्पले लेखेका छन्।
उनको यो बयान इरानका तीन आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेपछि आएको हो। यसअघि ट्रम्प सरकारका बरिष्ठ अधिकारीहरूले अमेरिकाले शासन परिवर्तन नचाहेकोतर्फ संकेत गरेका थिए। अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा हमला गरेपछि इरानको सत्ता परिवर्तनबारे बहस सुरु भएको छ। यो बहसको सुरुवात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले गरेका छन्। उनले आइतबार सामाजिक सन्जालमा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको सत्ता परिवर्तनबारे लेखेका छन्। खामेनी साढे तीन दशकदेखि इरानको सर्वोच्च पदमा आसिन छन्।
सन् १९७९ मा राजतन्त्रविरोधी इस्लामिक क्रान्तिले राजा साह मोहम्मद रजा पहलवीलाई सत्ताच्यूत गरेको थियो। राजाको शासन ढलेपछि पेरिसमा निर्वासन जीवन बिताइरहेका आयातुल्लाह रुहोल्लाह खामेनी स्वदेश फर्किएर इरानमा इस्लामिक गणतन्त्र स्थापित गरेका थिए। सन् १९८९ मा आयातुल्लाह रुहोल्लाह खामेनीको निधन भएपछि आयातुल्लाह अली खामेनीलाई इरानको सर्वोच्च नेता बनेका थिए।
अमेरिका र इजरायलले इरानको परमाणु कार्यक्रम रोक्ने उद्देश्यले आक्रमण गरेको भने पनि खास उद्देश्य भने खामेनीलाई सत्ताच्युत गर्नु रहेको भारतको जवाहरलाल नेहरू विश्वविद्यालयका सेन्टर फर वेस्ट एसियन स्टडिजका प्रोफेसर एके महापात्राले बीबीसीलाई बताएका छन्। ट्रम्पले आफ्नो सामाजिक सन्जाल ट्रुथ सोसलमा लेखेका शब्दहरुले पनि यही कुरालाई पुष्टि गरेको छ।
इजरायल र इरानबीच लडाइँ जारी रहेका बेला अमेरिकाले शनिबार राति इरानका फोर्दो, नतान्ज र एस्फाहन परमाणु केन्द्रमा बम आक्रमण गरेको थियो। ती केन्द्रहरुमा भएको क्षतिको फोटो सार्वजनिक गर्दै अमेरिकाले आक्रमण सफल भएको जनाएको छ। इरानले भने यसको कडा जवाफ दिने जनाएको छ।