इरानले हर्मुज जलमार्ग बन्द गर्न लागेपछि अमेरिकी विदेशमन्त्रीले गुहारे चीन


२०८२ असार ९ सोमबार १९:०० बजे

काठमाडौं । इरानको संसदले हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव अनुमोदन गरेको छ। तर यसको कार्यान्वयनको निर्णय भने देशको सर्वोच्च राष्ट्रिय परिषद् र नेता आयतोल्लाह अली खामेनेईको हातमा छ। तत्काल यो मार्ग बन्द हुने सम्भावना कम रहे पनि विश्व अर्थतन्त्रमा त्रास फैलिएको छ। हर्मुज जलमार्ग इरानसँग जोडिने पर्सियन खाडी र ओमानको खाडी हुँदै अरब सागरसम्म पुग्ने बाटो हो । तेल उत्पादन गर्ने थुप्रै खाडी देशहरूले यो जलमार्ग प्रयोग गरेर तेल निर्यात गर्ने गर्छन्।

इरानसहित साउदी अरेबिया, यूएई, कुवेत र इराकले आफ्नो तेल चीन, भारत, जापान, दक्षिण कोरियालगायतका देशमा निर्यात गर्न यही जलमार्ग प्रयोग गर्छन्। यो जलमार्ग प्रयोग गरेर विश्वको २० प्रतिशत तेल अन्तर्राष्ट्रिय बजारमा बेचिन्छ। यदि इरानले हर्मुज जलमार्ग बन्द गर्‍यो भने तेलको भाउ निकै बढ्नेछ। यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलमार्ग बन्द गर्ने तयारीबाट इरानलाई रोक्न चीनसँग आग्रह गरेका छन्। यो मार्ग बन्द हुँदा विश्व अर्थतन्त्र प्रभावित हुन सक्ने उनको भनाइ छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा संसारकै लाइफलाइन मानिने हर्मुज जलमार्ग इरानले बन्द गर्ने धम्की दिएको भन्दै चीनले रोक्नुपर्ने बताएका छन्। इरानको संसदले हर्मुज जलमार्ग बन्द गर्ने योजनालाई स्वीकृति दिएसँगै अमेरिकाले चीनको सहयोग मागेको हो ।हर्मुज जलमार्ग बन्द हुँदा अमेरिका प्रत्यक्ष प्रभावित हुँदैन तर चीन भने प्रत्यक्ष प्रभावित हुन्छ । चीनमा आयात हुने कच्चा तेलको ५० प्रतिशत यही बाटो भएर पुग्छ। चीनले इरानमा भएको आक्रमणको निन्दा गरे पनि जलडमरूमार्ग बन्दबारे कुनै स्पष्ट टिप्पणी गरेको छैन।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७