विपिनका बारेमा भगवानसँग प्राथना गरौं : परराष्ट्रमन्त्री डा. राणा
‘हाम्रा दूतावास खुकुराको खोर भन्दा साना छन्’

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशीको बारेमा चौतर्फी अनुरोध गरिएको जानकारी गराएकी छन्। प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। ‘हामीले सक्दो प्रयास गरेका छौं विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्री, सभामुखले पनि गर्नुभयो’, उनले भनिन्, ‘म आफैले पनि पत्र लेखेर अनुरोध गरेको छु । कतार र संयुक्त अरब इमिरेट्सका मन्त्रीसँग भेट गरेर अनुरोध गरेको छु।’
तर जोशीको अवस्था अहिले के छ भन्नेबारेमा नै अनभिज्ञता प्रकट गरिन्। ‘दुई जना विदेशी हराइरहेको जानकारी प्राप्त भएको थियो’, उनले भनिन्, ‘नेपाली नागरिक विपिन जोशीको बारेमा भगवानसँग प्राथना गरौं। सकुसल छन्। नेपाल फर्किन्छन् भन्ने आशा गरौं।’
‘हाम्रा दूतावास खुकुराको खोर भन्दा साना छन्’
परराष्ट्रमन्त्री डा. राणाले विदेशमा रहेका नेपाली दूतावास यहाँका वडा कार्यालय जत्तिको पनि नभएको बताएकी छन्। प्रतिनिधिसभाको बैठकमा उनले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएकी हुन्। ‘हाम्रा दूतावास वडा कार्यालय जत्तिकै पनि छैनन्। जापानमा जाँदा म डिप्रेस्ड भएर आएँ’, उनले भनिन्, ‘कुखुराको खोरभन्दा सानो दूतावास।’ उनले जापानमा रहेको दूतावासको उदाहरण दिँदै बस्ने ठाउँ पनि नरहेको बताइन्। ‘बस्ने ठाउँ पनि छैन । धेरै वडा कार्यालय एकदमै राम्रा छन् तर दूतावास त्यत्तिका पनि छैनन्’, उनले भनिन्, ‘जापानको राजदूतावास अलि राम्रो पनि हुनुपर्छ। दिल्ली र बेइजिङको दूतावास मर्मत गर्न भनेर पैसा हालेका छौं।’