सदनमा बोल्न नपाएका प्रधानमन्त्रीको पत्रकारलाई प्रश्न : मज्जा लाग्यो ?

काठमाडौँ । प्रतिनिधिसभामा आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तरको कार्यसूची राखिएको थियो। तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यसको अवरोधका कारण उनी प्रश्नोत्तरमा सहभागी हुन पाएनन्। सभामुख देवराज घिमिरेले प्रश्नोत्तरसम्बन्धी कार्यक्रम कार्यसूचीबाट हटाए।
प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीबाट हटाइएपछि ओली संसदबाट बाहिरिए। त्यतिबेलै सञ्चारकर्मीले ‘आज संसदमा तपाईले नै बोल्न पाउनु भएन हैन ?’ भन्दै प्रश्न गरे। जवाफमा ओलीले हल बाहिर रहेका सञ्चारकर्मीलाई उल्टै प्रश्न गरे– ‘मज्जा लाग्यो ?’
आज संसदमा प्रश्नोत्तर बाहेक ६ वटा मन्त्रालयको विनियोजनमाथि छलफलको कार्यसूची थियो। त्यसमध्ये युवा तथा खेलकुद एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री उपस्थित नभएकोले सो समेत कार्यसूचीबाट हटाइयो। अहिले भौतिक पूर्वाधार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको कार्यक्रममाथि छलफल हुँदैछ।