किशोरीले हानिन् आफ्नै प्रेमीमाथि छुरा, अवस्था गम्भीर

सिरहा । सिरहाको गोलबजारमा एक किशोरीले आफ्नै प्रेमी भनिएका युवकमाथि छुरा प्रहार गरेकी छन्। गोलबजार–२ की १७ वर्षीया अनिशा मण्डलको चक्कु प्रहारबाट गोलबजार–१३ का बासिन्दा २४ वर्षीय अशोककुमार महतो घाइते भएका छन्। छुरा प्रहारपछि भाग्ने क्रममा लडेर घाइते भएकी किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार, घरभित्र हल्लाखल्ला भएपछि स्थानीयहरू घरभित्र पस्दा युवती घरभित्रैको भर्याङ हुँदै छतमाथिबाट हाम फालेकी थिइन्।
महतो हाल वडा नं–४ स्थित दिनेश साहको घरमा भाडामा बस्दै आएका थिए। उनको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। छुरा प्रहारपछि भाग्ने क्रममा लडेर घाइते भएकी किशोरीको पनि गोलबजारकै लाइफ लङ अस्पतालमा उपचार गरिएको थियो। उपचारपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सिरहा लगिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानले घटनाको पुष्टि गर्दै आक्रमणको कारण भने खुल्न बाँकी रहेको जानकारी दिए। उनीहरूबीच प्रेम सम्बन्ध रहँदै आएको र भेटघाट हुँदै आएको देखेको स्थानीयले बताए। यस घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए। ‘घटना भएको छ, तर के कारणले भयो भन्नेबारे विस्तृत अनुसन्धानपछि मात्रै खुल्नेछ,’ डीएसपी पासवानले भने। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।