इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

काठमाडौं । दक्षिणी इजरायलको एक अस्पतालमा इरानले बिहीबार क्षेप्यास्त्र आक्रमण गरेपछि ‘ठूलो मूल्य चुकाउनु पर्ने’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताएका छन्।
‘आज बिहान इरानका ‘आतंककारी तानाशाह’ हरूले सोरोका अस्पताल र नागरिकहरूमाथि क्षेप्यास्त्र प्रहार गरेका छन्। हामी तेहरानमा तानाशाहहरूलाई ठूलो मूल्य चुकाउन बाध्य पार्नेछौं’, नेतन्याहूले बिहीबार एक्समा गरेको एक पोस्टमा उल्लेख छ। इरानको दक्षिणी शहर बेर्शेबामा रहेको सोरोका अस्पतालमा बिहीबार बिहान दर्जनौं ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि आगलागी भएको थियो।
अस्पतालका निर्देशक श्लोमी कोदेशले केही दिनयता खाली गरिएको सर्जिकल भवनमा आक्रमण भएको र ४० जना घाइते भएको जानकारी दिए। उनले भने, ‘धेरै वार्डहरू पूर्ण रूपमा ध्वस्त भएका छन् र सम्पूर्ण अस्पतालमा व्यापक क्षति पुगेको छ र मेडिकल केन्द्रका भवन, झ्याल, छतलगायतका अन्य संरचनाहरूमा क्षति पुगेको छ।’
इरानले आफ्नो आक्रमणको निशाना अस्पताल नभई इजरायली सेना र गुप्तचर बेस भएको बताएको छ। ‘आक्रमणको मुख्य निशाना इजरायली सेनाको कमाण्ड एण्ड इन्टेलिजेन्स बेस (आइडीएफ सीफोरआई) र सोरोका अस्पताल आसपासमा रहेको गाभ–याम टेक्नोलोजी पार्कमा रहेको आर्मी इन्टेलिजेन्स क्याम्प थियो’, अधिकारीलाई उद्धृत गरी इरानी सरकारी समाचार संस्था आइआरएनएले भनेको छ।