नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपालले टी–ट्वान्टी सिरिजको आफ्नो तेस्रो खेलमा आज (बिहीबार) नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाल लगातार दोस्रो जीतको खोजीमा छ। ग्लास्गोमा हुने खेल नेपालको समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ। यी दुई बीचको पहिलो खेल ऐतिहासिक बनेको थियो। नियमित समयको खेल टाइ भएपछि सुपर ओभरमा नतिजा आएको हो।
नेपाल तीन सुपरमा पराजित भएको हो। उक्त खेलमा नेदरल्यान्ड्सले १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले पनि १ सय ५२ रन नै बनाएपछि भएको सुपर ओभर रोमान्चक बनेको हो टी–ट्वान्टी र लिस्ट ए मा तीन सुपर ओभर भएको त्यो पहिलो पटक थियो।
नेपालले आफ्नो अघिल्लो खेलमा स्कटल्यान्डलाई दुई विकेटले हराएको थियो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै स्कटल्यान्डलाई ९७ रनमा अल आउट गरेका थिए। लो स्कोरिङ म्याचमा नेपालले पनि संघर्ष गर्यो। एक बल बाँकी हुँदा ८ विकेटको क्षतिमा रन चेज गर्दै नेपाल विजयी भएको हो । आज पनि नेपाल सोही लयलाई निरन्तता दिन चाहन्छ। प्रशिक्षक स्टुअर्ट ल ले प्लेइङ इलाभेनमा केही परिवर्तन पनि गर्न सक्नेछन्। नेपालका लागि सुपर ओभरमा स्तब्ध भएको पीडामा मल्हम लगाउने अवसर पनि हो।