‘रास्वपा र नेकपा एसलाई नैतिकता सिकाउनु पर्छ, राजावादीको सम्पत्ति छानबिन गर्नुपर्छ’

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीलाई लाई नैतिकता सिकाउनु पर्ने र राजावादीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। रास्वपाले भिजिट भिसा प्रकरणमा नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिरहेका बेला कांग्रेस नेता बस्नेतले उल्टै रास्वपालाई नै नैतिकताको पाठ पढाउनु पर्ने बताएका हुन्।
राष्ट्रिय सभाको विहीबारको बैठकमा बस्नेतले भने, ‘तपाईंहरुको पार्टी सभापतिलाई मुद्दा लगाएको छ। पार्टी सभापति जेलमा हुनुहुन्छ । जेलमा जाने पार्टी सभापति संसदीय दलकै नेता बस्नुपर्ने अनि पार्टी सभापति छोड्न नहुने ? अनि हामी नेपाली कांग्रेसलाई चाहिँ नैतिकता सिकाउने । यो कस्तो नैतिकताको कुरा हो ?’ सांसद बस्नेतले रास्वपा र नेकपा एसले कांग्रेसलाई नैतिकताको पाठ सिकाउन नमिल्ने टिप्पणी गरे । ‘नैतिकताको कुरा आउँदा रास्वपा र समाजवादीलाई सोध्न चाहन्छु। एउटा अध्यक्षलाई अख्तियारले मुद्दा लगाएको छ। एउटा सभापति जेलमा हुनुहुन्छ, संसदीय दलको नेता बस्नु पर्ने, पार्टी सभापति छाड्नु नपर्ने ?’ बस्नेतले भने । बस्नेतले राजावादीहरुलाई पनि निशाना साँधेका छन्। उनले राजावादीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने धारणा राखे।
‘३० वर्षे शासन, ४० वर्षे शासन गरेर आएका व्यक्तिहरु आज हेरौंन उनीहरुका महलहरु। पञ्चका महलहरु हेरौंन। आज सम्पत्ति उनीहरुको जाँच्नुपर्ने हो,’ बस्नेतले भने। उनले नेपालमा राजा फर्किन नसक्ने समेत बताए । ‘एउटा कुरा म प्रष्ट के भन्न चाहन्छु भने यो देश हामीले बनाउने हो, गणतन्त्र हामीले ल्याएको हो र राजा हामीले फालेको हौं । अब राजा आउन सक्दैन,’ उनले भने, ‘अब चारवटा तासको पत्तामा चाहिँ राजा रहन्छ।’ राजालाई विष्णुको अवतारको मान्ने राजावादीहरुलाई पनि उनले व्यंग्य गरे। उनले भने, ‘विष्णुको अवतार राजा भएको भए मूर्ति चोरिने थिएन होला, गजुरहरु चोरिने थिएन होला, कोकिनको ट्रान्जिट व्यापार हुने थिएन होला, ड्रग्सको व्यापार हुने थिएन होला। सबैकुछ गर्ने अनि विष्णुको अवतार भन्ने ? विष्णुको अवतारले त गर्दैन होला । म पनि कट्टर हिन्दु नै हुँ।’