निजामती विधेयक रोकिएपछि समिति सभापतिले रोष्टमबाटै पोखे असन्तुष्टि


२०८२ असार ५ बिहीबार २०:०५ बजे

काठमाडौं । निजामती विधेयक संसदमै रोकिएपछि संसदीय समितिका सभापति रामहरि खतिवडाले संसदको रोष्टमबाटै असन्तुष्टी जनाएका छन्। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले छिट्टै निजामती विधेयक अगाडि बढाउन सरकारसँग माग गरेका छन्।

सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति खतिवडालाई नागरिकता ऐन संशोधन विधेयक पेस गर्न समय दिएका थिए। नागरिकता ऐन संशोधन विधयकको प्रतिवेदन पेस गर्न रोष्ट्रम पुगेका सभापति खतिवडाले नागरिकता ऐन संशोधन विधेयकको प्रतिवेदन अड्किएको स्मरण गरे। ‘सभामुख महोदय, राज्य व्यवस्था तथा सुशासन समितिबाट हामीले पेस गरेको निजामती विधेयक पनि यहाँ आएर बसेको छ। कार्यसूचीमा आज प्रवेश गरेको देखिनँ। छिट्टै त्यो पनि कार्यसूचीमा आएर पारित हुने विश्वास मैले लिएको छु,’ सभापति खतिवडाले भने।

सभापति खतिवडाले नै १ असारमा निजामती सेवा विधेयकको प्रतिवेदन पेस गरेका थिए। उक्त विधेयकलाई पारित गर्ने कार्यसूची गत मंगलबार नै तय भएको थियो। तर, त्यस दिन सभा उक्त कार्यसूचीमा प्रवेश नै गरेन। बिहीबार बसेको प्रतिनिधिसभाको कार्यसूचीमा निजामती सेवा विधेयकको प्रतिवेदन पास गर्ने विषय नपरेपछि संसदीय समितिका सभापति खतिवडाले असन्तुष्टि जनाएका हुन्। आफ्नो असन्तुष्टिलाई उनले रोष्ट्रमबाटै व्यक्त गरेका हुन्। निजामती विधेयकमा रहेको सरकारी कर्मचारीले अवकाश पाएपछि वा राजीनामा दिएपछि २ वर्षसम्म संवैधनिक वा अन्य नियुक्ति नपाउने सम्बन्धी प्रावधान छ।

यसलाई कुलिङ पिरियडको रुपमा लिइन्छ। कुलिङ पिरियडको विषयमा उच्च पदस्थ कर्मचारीको असन्तुष्टि रहेको छ। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले समेत या विषयमा चासो राखेका छन्। कतै विधेयक रोकिन्छ कि भन्ने प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका सांसदहरूले पनि सरकारको ध्यानाकर्षण गरिरहेका छ्न्। यही बेला निजामती विधेयक अड्किएकोमा संसदीय समितिका सभापतिले पनि अगाडि बढाउन माग गरेका हुन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७