राजु पाण्डेको रिटमा सकियो बहस, आजै आदेशको सम्भावना

काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजु पाण्डेको रिट निवेदनमा बहस सकिएको छ। उच्च अदालत पाटनमा बुधबार अपराह्न दुवै पक्षको बहस सकिएको हो। रिटमा आजै आदेशको सम्भावना रहेको स्रोतले जनाएको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले गरेको निलम्बनविरुद्ध पाण्डेले गत जेठ २६ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। उनको रिटमा न्यायाधीश प्रकाश खरेलको इजलासले प्रारम्भिक सुनुवाइपछि कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो। नगर प्रहरी प्रमुख पाण्डेले प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई बिदा सकेर कार्यालय आउन खोज्दा कार्यकक्षमा तालाबन्दी गरी प्रवेशमा अवरोध गरेका थिए।
पाण्डेले वडाध्यक्षको सहयोगमा कार्यालय प्रवेश गर्न लाग्दा समेत माथिको आदेश भन्दै बाटोमा अवरोध गरेका थिए। त्यसपछि स्पष्टिकरण सोध्दै गुरागाईले पाण्डेलाई निलम्बित गरेका थिए । जेठ २० गते ६ महिनाका लागि निलम्बित भएका उनले त्यसको एक सातापछि उच्च अदालतमा रिट दायर गरेका थिए। पाण्डेले उत्प्रेषणको आदेशबाट प्रमुख कार्यकारी अधिकृत गुरागाईंबाट भएको निलम्बन बदर गरिदिन माग गरेका छन्।