सशस्त्रका एआइजी ठाडामगरलाई दर्ज्यानी चिह्न

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका गणेशबहादुर ठाडामगरलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। बुधबार बिहान हलचोकस्थित मुख्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
जेठ १५ गते बसेको बढुवा समितिको बैठकले ठाडा मगरलाई एआइजीमा बढुवा सिफारिस गरेको थियो। उक्त सिफारिसको आधारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआइजी बनाउने निर्णय गरेको हो। एआइजी चन्द्रप्रकाश गौतम ३० वर्षे सेवा अवधिका कारण वैशाख २ गते नै अवकाशमा गएका थिए। उनको अवकाशपछि एआइजीको पद रिक्त थियो।