युवतीको अश्लील भिडिओ बनाई आफन्तलाई पठाएको आरोपमा दुई युवक पक्राउ

संखुवासभा । संखुवासभा प्रहरीले आपराधिक लाभ तथा विद्युतीय अपराध (साइबर क्राइम) कसुर आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिका–१ का २९ वर्षीय सुजन भुजेल र सोही ठाउँका २२ वर्षीय विपल राई छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठका अनुसार संखुवासभाकी एक युवतीको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूले युवतीको अश्लील भिडियो बनाएर आफन्तलाई पठाएर चरित्र हत्याको प्रयास गरेका थिए । उनीहरूले आफूले भनेअनुसार नगरे त्यो भिडियो तथा तस्बिरहरू सार्वजनिक गर्ने धम्की समेत दिएका प्रहरी अनुसन्धानबाट खुलेको छ ।
युवतीको उजुरीको आधारमा अनुसन्धान अघि बढाउँदा घटनामा संलग्न भएका प्रमाण फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । उनीहरूलाई प्रहरीले संखुवासभा जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाएको छ ।