मेयर नेपालीको घर–जग्गा लिलाम नगर्न अदालतको आदेश


२०८२ जेठ २९ बिहीबार १७:३१ बजे

बागलुङ  । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको घरजग्गा तत्काल लिलामी नगर्न उच्च अदालत पोखरा, बागलुङ इजलासले बैंकलाई आदेश दिएको छ। राष्ट्रिय सहकारी बैंक लिमिटेड ललितपुरको नाउँमा अदालतले बुधबार घरजग्गा तत्काल लिलाम नगर्न आदेश दिएको हो। आदेशमा निजको घरजग्गाहरु लिलाम गर्ने कार्य नगर्नू / नगराउनू भन्ने उल्लेख छ। उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य भइ काम गर्ने न्यायाधीश नातीबाबु लामिछानेको एकल इजलासले उच्च अदालत नियमावली, (२) ७३ को नियम ४२ (१) बमोजिम उक्त आदेश जारी भएको हो।

नेपालीको बागलुङ बजारको घरजग्गा बैंकको लिलामी प्रक्रियामा सहभागी भएर बागलुङ नगरपालिका–११ का रामबहादुर र गोमा क्षेत्रीले खरिद गरेका थिए। उक्त खरिद विरुद्ध अदालतमा निषेधाज्ञा र उत्प्रेषणयुक्त परमादेशको मागसहित नेपालीले अदालतमा निवेदन दिएका थिए। आदेशमा असार ९ गते अन्तरिम आदेशका लागि छलफलको गर्न विपक्षीलाई म्याद सूचना जारी गर्ने भनिएको छ। बागलुङ नगरपालिका–२ मा रहेको कित्ता नम्बर ४५७, ४५८ र ४५९ मा बनेको ठूलो घर तथा कित्ता नम्बर ८८७ मा बनेको सानो घर लिलामी भएको थियो । राष्ट्रिय सहकारी बैंकको धितोमा राखिएको जग्गा लिलामीको सूचनाको अधारमा क्षेत्री परिवारले सकारेका थिए।

नेपाली अहिले सहकारी ठगी मुद्दामा कारागारमा छन्। उनी कारागारमा भएको बेला कसरी घरजग्गा बिक्री भयो भन्दै सहकारी पीडितले बैंकको बागलुङ शाखा घेराउ गरेर दबाव दिइरहेको बेला अदालतको आदेश आएको हो। इमेज पीडित संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले भने एक अर्बको सम्पत्ति बैंकले अधिकतम २३ करोडमा लिलाम गरेको जिकिर गर्दै आएका छन्।पीडितले सूचनाको हक अनुसार जानकारी दिन भन्दै चार दिनअघि बैंकमा निवेदन समेत दिएका छन्। निवेदनमा बैंकले के कति रकममा लिलाम गरेको, के प्रकृया पुर्‍याएर बिक्री भयो भन्ने उनीहरुको जिज्ञासा छ। बैंकका प्रबन्धक अर्जुन श्रेष्ठले भने नेपाल राष्ट्र बैंकको नियम अनुसार घरजग्गा लिलाम भएको बताएका छन्। मालपोत कार्यालय बागलुङका प्रमुख देवेन्द्र थापाले भने बैंकको लिलामी प्रक्रियामा गएकोले व्यक्तिगत जग्गा पास गरेझै हस्ताक्षर नचाहिने बताए। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७