कांग्रेस–रास्वपाका नेताबीच एक घण्टा के भयो कुराकानी ?

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबीच एक घण्टा लामो छलफल भएको छ। आज बिहीबार संघीय संसद भवनस्थित शंकर हलमा दुई दलका नेताबीच भिजिट भिसा प्रकरण र संसदको अवरोधका विषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिएका छन।
छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक घिमिरे सहभागी थिए। त्यस्तै रास्वपाको तर्फबाट उपसभापति डा. स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।
‘दुई दलका नेताहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भयो। खास गरी उहाँहरूले उठाउँदै आउनु भएको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाका बारेमा कुरा भयो,’ उनले सुनाए, ‘हामीले यो विषय गृहमन्त्रीको राजीनामा दिनुपर्ने विषय होइन भनेर फेरि दोहोर्यायौं । छलफलपछि उहाँहरू पार्टीमा छलफल गरेर थप निर्णय लिन्छौँ भनेर निस्किनु भयो।’
रास्वपाका नेताहरूले कांग्रेसका नेताहरूसँग छलफल नै किन नगर्ने भनेर गुनासो गरेपछि उपसभापति खड्का छलफलको वातावरण बनाउन तयार भएका थिए। त्यसपछि घिमिरेले रास्वपाका कार्यवाहक सभापति डीपी अर्याललाई छलफलको समयबारे जानकारी गराएका थिए। अर्यालले पार्टीका तर्फबाट छलफलका लागि वाग्ले र परियारलाई जिम्मा दिएका थिए ।