सिटिजन्स बैंकद्वारा र्यापिड एपीआई बैंकिङ प्रणाली सुरु

काठमाडौँ । सिटिजन्स बैंकले नेपालमै पहिलो पटक गोकियो ल्याबस प्रालिसँगको सहकार्यमा व्यवसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन डिजाइन गरिएको सुरक्षित एपीआई बैंकिङ प्लेटफर्म (र्यापिड) सञ्चालनमा ल्याइएको छ।
यस सेवा अन्तर्गत प्रथम चरणमा, व्यवसायिक ग्राहकको सहमतिमा र्यापिडले ग्राहकको ईआरपी प्रणालीहरूलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जडान गर्छ, जसले गर्दा ईआरपीभित्रैबाट वास्तविक समयमा ब्यालेन्स चेक र स्टेटमेन्ट हेर्न सकिन्छ।
साथै दोस्रो चरणमा, र्यापिड विश्वव्यापी मापदण्ड आईएसओ २००२२ तथा एमएफए र ओअथ२ जस्ता प्रविधिहरू प्रयोग गरी भुक्तानी प्रारम्भ गर्ने सुरक्षित एपीआई उपलब्ध गराउनेछ, जसमा भुक्तानी स्वीकृतिका लागि हस्ताक्षरकर्ता (एकल वा बहु–हस्ताक्षर) परिभाषित गर्न सकिने, क्यूआर कोड र कार्डमार्फत गरिएका कारोबारहरूको सेटलमेन्ट डेटाको विस्तृत भुक्तानी विवरण प्राप्त गर्न सकिने, कर्मचारीहरूको तलब भुक्तानीलाई छिटो प्रभावकारी र स्वचालित गराउन सकिने, एउटा खाताबाट अर्को खातामा रकमान्तर तथा अन्तर बैंक रकमान्तर सहज र सुरक्षित तरिकाले गराउन सकिने, अनलाइन खाता खोल्न सकिने, जस्ता सेवाहरू उपलब्ध हुनेछन् ।
र्यापिडले व्यवसायिक प्रयोगकर्तालाई ओअथ२ मार्फत सुरक्षित डिजिटल सहमतिद्वारा पूर्ण नियन्त्रण दिन्छ, र प्रत्येक महत्त्वपूर्ण कार्यका लागि एक पटक प्रयोग हुने पासकोड (टीओटीपी)को माध्यमबाट थप सुरक्षा प्रदान गर्छ। सम्पूर्ण डेटा आधुनिक पीकेआई प्रविधिको प्रयोगद्वारा पूर्ण रूपमा इन्क्रिप्ट गरिएको हुन्छ ।