प्रहरी जवानले घुँडामा बुटले हाने, कठालो समातेर लडाए : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आइतबारको प्रदर्शनमा प्रहरीले आफूमाथि अमानवीय व्यवहार गर्दै बुटले हिर्काउँदै घिसारेर पक्राउ गरेको बताएका छन् ।
प्रहरी हिरासतबाट छुटेपछि पत्रकार सम्मेलन गर्दै उनले सरकारको दमनले आन्दोलन नरोकिने बरु अझ उचाइमा पुग्ने चेतावनी दिए । आइतबार बालुवाटारतर्फ जाने क्रममा ठूलो संख्यामा तैनाथ प्रहरीले आफूहरुलाई रोकेको र अगाडि बढ्न खोज्दा अकस्मात लाठीचार्ज भएको उनले बताएका छन् ।
उनका अनुसार, लाठी प्रहारबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन समेत घाइते भएका थिए । आफूले स्थितिलाई संयमित बनाउन खोज्दा एक प्रहरी जवानले पटक–पटक आफ्नो खुट्टा र घुँडामा बुटले हिर्काएको र कसले हानेको भनी सोध्दा अचानक कठालोमा समातेर लडाउँदै घिसारेर भ्यानमा हालिएको उनले बताए ।
अध्यक्ष थापाले गत जेठ १५ गतेदेखि नै आफूहरूले शान्तिपूर्ण आन्दोलन गर्ने प्रतिबद्धता जनाएको र सोहीअनुसार कार्यक्रम भइरहेको जनाए । हिजो (शनिबार) दरबारमार्ग निषेधित क्षेत्र घोषित भएपछि आफूहरूले उक्त क्षेत्रमा नगई बालुवाटारमा कार्यक्रम गरेको र आज पनि सोही स्थानमा कार्यक्रम गर्न खोज्दा दमन गरिएको उनले स्पष्ट पारे ।
‘सरकारले जुन किसिमको आज आन्दोलनमाथि दमन गर्यो, जुन किसिमको बर्बरतापूर्ण ढंगको व्यवहार गर्यो र एकदम अमानवीय ढंगबाट... म आफैं एउटा पार्टीको जिम्मेवार अध्यक्ष, दुई–दुई पटक, तीन–तीन पटक उपप्रधानमन्त्री, गृहमन्त्री भइसकेको व्यक्तिलाई जुन किसिमबाट अभद्र व्यवहार गर्ने, पक्राउ गर्ने र हाम्रा पार्टीका कैयौं कार्यकर्ता साथीहरूलाई आक्रमण गर्ने काम गर्यो, यसको म घोर भर्त्सना गर्दछु, निन्दा गर्दछु,’ थापाले भने ।
उनले यस्तो दमनले आफ्नो आन्दोलन नरोकिने र सरकारले जति दमन गर्दै जान्छ, आन्दोलनको उचाइ स्वाभाविक रूपले अझ बढ्दै जाने र अझ बढी प्रतिबद्धताका साथ आफूहरू आफ्नो लक्ष्य प्राप्तिका निम्ति अगाडि बढ्ने बताए ।