प्रचण्डलाई धेरैतिर खोजी गर्दा पनि फेला पर्नु भएन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटका लागि सम्पर्क नभइरहेको बताएका छन् । संसदमा जारी अवरोध हटाउनेबारे आफूले खोजी गरिरहेको तर सम्पर्क हुन नसकेको ओलीले बताएका हुन् ।
एमाले संसदीय दलको बैठकमा सोमबार प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष दाहाल जनप्रतिनिधिहरूलाई निष्प्रभावी बनाउने काममा लागेको पनि आरोप लगाए । ‘भोलि संसद् चलाऔं भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजेँ । हामी लिडरहरूको बीचमा अलिकति छलफलहरू गरौँ भनेर, उहाँ सम्पर्क आउन चाहिरहनु भएको छैन । उहाँलाई थाहा नभएको होइन, उहाँलाई धेरैतिरबाट खोजी गर्दा पनि फेला पर्नुभएको छैन,’ प्रधानमन्त्रीले भने, ‘उहाँहरू कुरा नगर्ने, (संसद्) बन्द गर्ने मुडमा हुनुहुन्छ होला । यस्ता नचाहिने कुरामा संसद्को कारबाही रोकेर, देशको, विकासको गतिविधिलाई अवरुद्ध गर्ने खालका काम, जनप्रतिनिधिलाई निष्प्रभावी बनाउने काम, असफल बनाउने काम निरर्थक ढंगले भइरहेको छ ।’
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठक मंगलबारदेखि चल्ने बताए । विपक्षी दलहरूले अवरोध गरे पनि बैठक सञ्चालन हुने उनको भनाइ थियो । संसदमा मंगलबारदेखि सरकारको आगामी वर्षको बजेटमाथि छलफल सुरु हुनेछ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले संसदमा अवरोध गर्ने निर्णय गरेका छन् ।