राजावादी आन्दोलनबारे कांग्रेस : संविधानको घेरा गैरसंवैधानिक तरिकाले तोड्नु अनुचित

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको पदाधिकारी बैठकले पूर्वराजा समर्थित दल र समूहको आन्दोलनप्रति कटाक्ष गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले संविधानको घेरा गैरसंवैधानिक तरिकाले तोड्नु अनुचित भएको टिप्पणी गरेको हो।
पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितका राजावादी दल र समूहले राजसंस्थाको माग गर्दै प्रदर्शन गरिरहेका छन्। ‘संविधानमा केही सुधार गर्नुपर्ने छ भने जनप्रतिनिधिले नै गर्ने हो । तर, संविधानको घेरालाई गैरसंवैधानिक तरिकाले तोड्नु अनुचित छ,’ बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘नेपालको संविधान कसैले दिएको होइन। हामी प्रतिनिधिले बनाएका हो । यसको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो । हामी नै गर्छौं ।’
बैठकमा पार्टीको क्रियाशील सदस्यता, भ्रातृ संस्थाको अधिवेशनसहितका विषयमा पनि कांग्रेसले छलफल गरेको उनले जानकारी दिए । केही समयभित्रै बस्ने केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाबारे निर्णय लिने प्रवक्ता डा. महतले बताए।अधिवेशन समयमा गर्न नसकेका भ्रातृ संस्थाको तदर्थ समिति भंग गर्ने कि समय थप्ने भन्नेमा कांग्रेसले निर्णय लिन सकेको छैन।