बढ्यो फेवातालको क्षेत्रफल, होला त अब संरक्षण ?
फेवातालको सीमानामा १,१५५ वटा पिल्लर गाडिने

पोखरा । फेवातालको सीमाना (तालघर) मा शनिबारदेखि पिल्लर गाडिने भएका छन् । फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि गठित फैसला कार्यान्वयन सहजीकरण समितिले तालघरमा पिल्लर गाड्ने भएको हो ।
पोखरामा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक समेत रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोलिदेखि नै तीन तहका सरकारको उपस्थितिमा फेवातालको चारैतिर पिल्लर गाडिने जानकारी दिएका छन्। ‘पहिलो पिल्लर मैले गाड्छु, दोस्रो पिल्लर मेयरसावले गाड्नु हुन्छ र तेस्रो पिल्लर प्रमुख जिल्ला अधिकारी ज्यूले गाड्नु हुन्छ’, मुख्यमन्त्री पाण्डेले भने । उनका अनुसार तालको चारैतर्फ एक हजार एक सय ५५ वटा पिल्लर गाडिने छन् । फैसला कार्यान्वयनका लागि बाँकी काम क्रमशः गर्दै जाने योजना बनाइएको छ ।
फेवातालको पछिल्लो पटक पुनः नापजाँच गरी तालको यथार्थ अवस्थाबारे विवरण यकिन गरिएका छन् । फेवातालको सीमाङ्कन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डीजीपीएस प्रविधि र ड्रोन सर्वेमार्फत डिटेल सर्वेक्षण सम्पन्न गरेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।
पछिल्लो रिपोर्ट अनुसार २९ वटा मुख्य आधार विन्दु कायम गरी ४० सेमी उचाइका २९ पिल्लर जमिनमुनि गाडिएका छन्। यसको आधारमा नौ हजार नियन्त्रण बिन्दु कायम गरिएका नगर प्रमुख आचार्यले बताए । सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साको अध्ययन पश्चात् फेवातालको हाई फ्लोड लेबल ७९४ दशमलव ९५ मिटर कायम गरिएको आचार्यले बताए ।
उक्त विन्दुलाई हाई फ्लोड लेभल आधार मान्दा तालको ताल घर ६ दशमलव ३४३ वर्ग किदशमलवमी अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आउने उनले बताए । सर्वोच्च अदालतले तोकेको ६५ मिटर समेतको कुल क्षेत्रफल ७ दशमलव ६१६ वर्ग किदशमलवमी (१४ हजार ९७० रोपनी ५ आना २ दाम) कायम हुने आचार्यको भनाई छ ।
सर्वेक्षण सम्पन्न पश्चात तीनै तहका सरकारको समन्वयमा कास्कीमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र यस अघिल्लो अध्ययन प्रतिवेदन कार्यदलका संयोजक पुण्यप्रसाद पौडेल र विश्वप्रकाश लामिछाने समेतसँग छलफल गरिएको समितिले बताएको छ ।
अब दोस्रो चरणमा ताल घरमा पर्ने जग्गाको अवस्था अध्ययन गरी मुआब्जा दिनपर्ने वा नपर्ने, दूषित दर्ता, ३१ साल अघि-पछिको दर्ता, भौतिक संरचनाको अवस्थालगायतको यकिन गरिनेछ । त्यसपछि ६५ मिटर भित्रको क्षेत्रमा पर्ने जग्गाको अवस्था अध्ययन तथा मुआब्जा दिनपर्ने वा नपर्ने, दूषित दर्ता, ३१ साल अघि÷पछिको दर्ता, भौतिक संरचनाको अवस्थालगायतको यकिन गरिने समितिले जनाएको छ ।
सर्वोच्च अदालतले पछिल्लो पटक मिति २०८० असार ४ मा नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको नाममा तालको यथार्थ अवस्थाको अध्ययन गरी पानीको उच्चतम् विन्दुबाट ६५ मिटरको मध्यवर्ती क्षेत्र घोषणा गरी पूर्ण रूपले हरियाली प्रवर्द्धन गर्नु गराउनु भनी उत्प्रेषणयुक्त परमादेश दिएको थियो । सो फैसलाको चरणबद्ध कार्यान्वयनमा आफूहरू प्रतिबद्ध रहेको तिनै तहका सरकारका प्रतिनिधिले प्रतिबद्धता जाहेर गरेका छन् । फेवातालका सम्बन्धमा हालसम्म १३ वटा अध्ययन प्रतिवेदन तयार भएका अभिलेख पाइन्छ ।