परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता


२०८२ जेठ १६ शुक्रबार १७:२३ बजे
चीन

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चीनका विदेशमन्त्री वाङ यीबीच आज हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ । विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय संगठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन हङकङमा रहेकी मन्त्री राणा र चिनियाँ विदेशमन्त्रीबीच सो भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपाल चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै यस वर्ष दुवै देशले मनाइरहेका नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षका विषयहरूमा कुराकानी भएको थियो । मन्त्री राणाले समकक्षी यीलाई नेपाल भ्रमणको निम्तो समेत दिइन् ।भेटका क्रममा मन्त्री राणाले नेपालले चीनसँगको सम्बन्धलाई महत्त्व दिँदै आएको प्रसंग उल्लेख गर्दै एक असल मित्रराष्ट्रका रूपमा नेपालको आर्थिक, सामाजिक विकासका क्षेत्रमा विगत लामो समयदेखि चीनले पुर्‍याउँदै आएको सहयोग र समन्वयका लागि धन्यवाद ज्ञापन गरिन । साथै नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्‍याउँदै नेपाली भूमि चीनका विरुद्धमा प्रयोग हुन नदिइने कुरामा नेपाल अडिग रहेको पनि स्पष्ट गरिन् ।

मन्त्री राणाले सगरमाथा संवादमा चीनबाट भएको प्रतिनिधित्वका लागि चीन सरकारलाई विशेष धन्यवाद पनि दिइन् । उक्त भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका अवसरमा भएका सहमति एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा पनि कुराकानी भएको थियो । यता चिनियाँ विदेशमन्त्री यीले जलवायु परिवर्तन र यसको असरलाई कम गर्ने तथा वातावरण संरक्षण गर्ने क्षेत्रमा आगामी दिनमा नेपालसँग सहकार्य गर्न चीन तयार रहेको बताएका थिए । उनले चीनले नेपाललाई दिँदै आएको सहयोग आगामी दिनमा निरन्तर रहने बताउँदै चीनको समन्वयमा स्थापना हुने मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय संगठनमार्फत आगामी दिनमा नेपालसँग पनि समन्वयका साथ अघि बढ्न सकिने धारणा राखेका थिए । साथै मन्त्री डा. राणाले दिएको नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गर्दै आफू नेपाल भ्रमणमा आउने बताएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७