मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गरेका पेम्बालाई स्वास्थ्य मन्त्रीको सम्मान


२०८२ जेठ १६ शुक्रबार १७:२७ बजे

काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी आरोही पेम्बा शेर्पालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार सम्मान गरेका छन्। स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले साहस, आत्मबल र आशाको सन्देश फैलाउने शेर्पाको कीर्तिमानी उपलब्धिलाई ‘इतिहास रच्ने क्षण’ भन्दै बधाई दिए । उनले मष्तिष्क मृत्युपछि अंग दान गरी जीवन बचाउन सकिने यथार्थको उदाहरण स्वरूप शेर्पाको यो अभियानले जनचेतना फैलाउने विश्वास व्यक्त गरे ।

‘अहिले पनि अंगदाताको अभाव छ, तर पेम्बा शेर्पाको सन्देशले अंगदानप्रतिको सोचमा परिवर्तन ल्याउने छ,’ मन्त्री पौडेलले भने । उनले हिमाल आरोहणको कठिन र जोखिमपूर्ण काममा संलग्न भरियाहरुको अझै पनि स्वास्थ्य बीमा नभएकोप्रति चिन्ता व्यक्त गर्दै अब भरियाको बीमाका लागि मन्त्रालयले पहल थाल्ने जानकारी पनि दिए । पेम्बा शेर्पाले मिर्गौला प्रत्यारोपणपछि आफूले पुनः जीवनलाई पाएको महसुस गर्दै यो आरोहणले आत्मबल अझै बढाएको बताए । 

‘जीवनमा केही पनि असम्भव छैन भन्ने कुरा मैले सगरमाथामा हिँड्दा महसुस गरें,’ शेर्पाले भने । शेर्पाको मिर्गौला विफल भएपछि तीन वर्षअघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण गरिएको थियो । वैदेशिक रोजगारीबाट फर्किएपछि उनले मार्च २२, २०२४ मा लोबुचे हिमाल र त्यसपछि मे १४ मा सगरमाथाको सफल आरोहण गर्दै इतिहास बनाएका हुन् । मिर्गौला प्रत्यारोपणपछि सगरमाथा सफल आरोहण गर्ने शेर्पा संसारकै पहिलो आरोही हुन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७