युवालाई अनिवार्य सैन्य तालिम दिन मधेश सरकारलाई सुझाव

जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले युवाहरुलाई अनिवार्य सैन्य तालिम दिन मधेश सरकारलाई सुझाव दिएका छन् । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमार्फत् सम्बोधन गर्न भन्दै साहले मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ११ बुँदे ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा एसईई दिएका युवाहरुलाई ६ महिनासम्म अनिवार्य सैन्य तालिम दिई अनुशासन र आत्मरक्षाको सिप विकास गर्नुपर्ने, प्रत्येक परिवारका कम्तिमा एक सदस्यलाई रोजगारी दिनुपर्ने लगायतका बुँदा छन् ।
यसले रोजगारीका लागि विदेश पलायन रोक्न सहयोग पुग्ने उनको तर्क छ। यस्तै मधेशको इतिहास, संघीयता र लोकतान्त्रिक आन्दोलनबारे शैक्षिक पाठ्यक्रम र प्रशिक्षण सुरु गर्नुपर्ने, सल्हेस पर्यटन करिडोर निर्माण गरी ऐतिहासिकस्थलहरू जोड्ने र जानकी नवमीमा मिथिला सांस्कृतिक रथ यात्रा आयोजना गर्नुपर्ने नेता साहले सुझाव पत्रमा समेटेका छन् ।