माओवादीले जेठ २१ गतेदेखि पुनः मध्यपहाडी अभियान सञ्चालन गर्ने


२०८२ जेठ १६ शुक्रबार १७:२८ बजे

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान जेठ २१ गतेदेखि सुरु गर्ने भएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहान बसेको पदाधिकारी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको सो पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए। यस्तै एकता प्रक्रियामा जोडिएका गंगानारायण श्रेष्ठ समूहलाई जिम्मेवारी दिनेबारे निर्णय भएको बताए । पौडेलका अनुसार नेसपाको कार्यकारिणी पदमा रहेकालाई केन्द्रीय सदस्य बनाउने र अन्यलाई साबिक पार्टीमा रहेको जिम्मेवारी अनुसार समायोजन गर्ने निर्णय भएको छ । 

‘मध्य पहाडी जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको छ । एकता प्रक्रियामा जोडिएका साथीहरूलाई समायोजन गर्ने निर्णय भएको छ । साबिकका पार्टीमा जुन तहमा जिम्मेवारी दिएको त्यहिअनुसार समायोजन गर्ने निर्णय भएको छ’, उनले भने । अभियान लमजुङबाट सुरु भएर जेठ २५ गते सिन्धुली आएर टुंगिनेछ । यसअघि जेठ २ गतेबाट सुरु भएको अभियान पोखरामा आएर टुंगिएको थियो । यो अभियान सोलुखुम्बुमा गएर सम्पन्न हुनेछ । जेठ १२ गते श्रेष्ठ नेतृत्वको नेसपा समूह र नेपाः राष्ट्रिय पार्टीसँग एकता भएको थियो । नेसपाका सह–अध्यक्ष रहेका श्रेष्ठलाई माओवादीले सचिवको जिम्मेवारी दिएको थियो । 

संसदको अवरोधबारे निर्णय लिन संसदीय दलको बैठक बस्दै
नेकपा माओवादी केन्द्रले संसदमा प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउने संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विज्ञसहितको संसदीय दलको बैठक बोलाउने निर्णय भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार जेठ १९ गते मध्यान्ह १२ बजे माओवादी संसदीय दलको कार्यालयमा बैठक बस्नेछ ।

जेठ १३ गतेदेखि विपक्षी दलहरूसँग मिलेर लगातार संसद् अवरोध गर्दै आएको माओवादीले बिहीबार सरकारले ल्याएको आगामी वर्षको बजेट पेस गर्न दिएको थियो । संसद्मा अवरोध जारी राख्ने कि विकल्पमा जाने भन्ने विषयमा विज्ञहरूको रायबाट थप निर्णय लिने माओवादीको तयारी छ। ‘प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउन विज्ञसहितको संसदीय दलको बैठक बोलाएको छ । संसद्को अवरोधलाई जारी राख्ने कि वैकल्पिक उपाय खोज्ने भन्ने विषयमा विज्ञहरूको सहयोग लिनेछौँ । जेठ १९ गते बस्ने बैठकले नै निर्णय गर्नेछ’, पौडेलले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७