‘न्यायपूर्ण नेपाल निर्माण गर्नु नै गणतन्त्रको साँचो सम्मान’

काठमाडौं । सभामुख देवराज घिमिरेले भ्रष्टाचार, असमानता र शासकीय कमजोरी जस्ता विषयमा निर्मम हुँदै समृद्ध, समावेशी र न्यायपूर्ण नेपाल निर्माण गर्नु नै गणतन्त्रको साँचो सम्मान हुने बताएका छन् । १८औं गणतन्त्र दिवसका अवसरमा आज देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै सो कुरा व्यक्त गरेका हुन् ।
उनले गणतन्त्रको भावना केवल संवैधानिक संरचना परिवर्तनमा सीमित रहनु हुँदैन भन्दै गणतन्त्र जनसरोकार, सुशासन, पारदर्शिता र समावेशिताको जीवन्त अभ्यासका साथै समृद्धिको बलियो आधारमा रूपान्तरित हुनुपर्ने बताए । सभामुख घिमिरेले लोकतान्त्रिक गणतन्त्रमा देखिएको गणतन्त्रविरोधी गतिविधि केवल संविधानको अवमूल्यन मात्र नभई सहिदहरूको अपमान पनि भएको बताए । उनले आन्दोलनका सपना र बलिदानमाथि प्रहार गर्ने कुनै पनि चाहनालाई सम्पूर्ण राजनीतिक दल तथा नेपाली जनता एकजुट भएर अस्वीकार गर्नुपर्नेमा जोड दिए ।
सभामुख घिमिरेले सन्देशमा उल्लेख गरेका छन्, ‘गणतन्त्र दिवसमा सबै नेपालीहरूले गणतन्त्रको रक्षा, प्रवद्र्धन र सुदृढीकरणमा समर्पित भएर राष्ट्रलाई स्थायित्व, विकास र समृद्धिको दिशामा सफलीभूत गराउने संकल्प लिन जरुरी छ।देश गणतन्त्रमा प्रवेश गरेसँगै राजनीतिक संरचना, शासन प्रणाली र नागरिक अधिकारको परिभाषा नै परिवर्तन भएको छ, यो ऐतिहासिक परिवर्तन केवल राजतन्त्रको अन्त्य मात्र थिएन; नेपाली जनताको लामो संघर्ष, बलिदान र जनआकांक्षाको औपचारिक जित पनि थियो ।’
नेपाली जनताका प्रतिनिधिमार्फत विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र दिवस जनताको बलिदानीपूर्ण संघर्षलाई स्मरण गराउने प्रत्येक नेपालीको साझा गौरवको दिन भएको उनको भनाइ छ । ‘गणतन्त्र दिवस २०८२ को यस ऐतिहासिक अवसरमा गणतन्त्र स्थापनामा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्वाञ्जली अर्पण गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्ने राजनीतिक दल, नागरिक समाजका अगुवा तथा नेपाली जनताको योगदानको उच्च कदर गर्न चाहन्छु ।’
‘आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार’
उपसभामुख इन्दिरा राना मगरले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको बताएकी छन् ।
गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जनताका आधारभूत अधिकारको प्रभावकारी कार्यान्वयन गर्दै संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापना गर्नका लागि सबै लाग्नुपर्ने बताइन्।उपसभामुख राना मगरले भनेकी छन्, ‘नेपालको संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गरेको छ ।’
उनले कुनै एक वंश विशेष र ज्येष्ठताका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु बहुलवादमा आधारित लोकतान्त्रिक गणतन्त्रको प्रमुख विशेषता भएको उल्लेख गरिन् । सन्देशमा भनिएको छ, ‘यो व्यवस्थाले त्यही अनुकूलको राजनीतिक आचरण र चरित्र खोजेको कुरालाई हामीले बिर्सियौँ भने हाम्रा अग्रजहरूको लामो संघर्ष तथा नागरिकको ठूलो बलिदानप्रति नै अपमान गरेको ठहर्छ। यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गर्ने अपेक्षासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।’