सरकारले हटायो राप्रपा सांसदहरूको ‘पिएसओ’

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दिइएको पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) एकै पटक हटाएको छ। सरकारले राप्रपाका तीन सांसदहरूका पिएसओ एकै पटक फिर्ता गरेको हो । प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पिएसओ फिर्ता भएका हुन्। व्यवस्थाविरूद्व लागेको भन्दै आफूहरूको पिएसओ हटाएको उनीहरुको भनाइ छ।
प्रमुख सचेतक शाहीले आफूहरूको सुरक्षा फिर्ता जानकारी दिएका छन् । ‘पिएसओ फिर्ता भएका छन्, यो मलाई आपत्तिको विषय चाहिँ होइन,’ उनले भने, ‘किन फिर्ता भए पनि थाहा भएन ।’ उनले राप्रपाका अरू दुई जना सांसदहरूको पनि पिएसओ फिर्ता भएको बताए। राप्रपाका अर्का सांसदले पनि पिएसओ फिर्ता भएको बताएका छन्।
‘हामीलाई दिएको सुरक्षा फिर्ता भयो,’ उनले भने, ‘किन हो जानकारी भने केही दिइएन।’ शाही प्रमुख सचेतक, सिंह पूर्वाधार विकास समिति र प्रधान पूर्व आइजिपी रहेकोले पिएसओ दिँदै आइएको थियो। यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले नियमित ब्रिफिङका लागि पिएसओहरूलाई बोलाइएको हुन सक्ने बताएका छन्। ‘सुरक्षा संवेदनशीलताको आधारमा बेलाबेला हामीले सबै पिएसओहरूलाई बोलाएर ब्रिफिङ लिने गरेका हुन्छौं, त्यही कारण बोलाइएको हो कि,’ उनले भने ।