बालुवाटार वैठकको निष्कर्ष : गृहमन्त्रीको राजीनामा असम्भव, संसदमा जवाफ दिने

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुबीचको छलफल सकिएको छ। बालुवाटारमा कांग्रेसका शीर्ष नेतृत्वसहित प्रधानमन्त्रीको छलफलले गृहमन्त्रीको राजीनामा असम्भव रहेको निष्कर्ष निकालेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले उठेका विषयमा संसदमा प्रष्ट पार्ने सहमति भएको छ। विपक्षीले सदन अवरुद्ध गर्ने नीति लिएपछि प्रधानमन्त्री ओली, सभापति देउवा, गृहमन्त्री लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए ।
प्रमुख सचेतक बर्तौलाले बालुवाटार छलफलमा संसद्को गतिरोध खुलाउने बारेमा छलफल भएको बताए। ‘उठेका विषयमा आजको संसद् बैठकमा गृहमन्त्रीले प्रष्ट पार्नु हुन्छ’, बर्तौलाले भने, ‘नियमावलीअनुसार बैठक अघि बढ्छ।’ मंगलबारको बैठक विपक्षीको अनुरोधमा स्थगित भएको बर्तौलाको भनाइ छ । बर्तौलाले भने, ‘हिजो प्रतिपक्षले बैठक स्थगित गरौं भन्ने आग्रह गरेको हो। आजसम्मको समय मागेको हो, उहाँहरूले मान्नु भएन भने पनि गृहमन्त्रीले सदनमा बोल्नु हुन्छ।’